आँप बोकेर चितवन आएको भारतीय ट्रकमा तोडफोड - Crazysaptahik.com

आँप बोकेर चितवन आएको भारतीय ट्रकमा तोडफोड

क्रेजी साप्ताहिक
पथरी । चितवनको नारायणगढ क्षेत्रपुरस्थित महानगर ताजा तरकारी तथा फलफूल थोक बजारमा आँप ल्याएको भारतीय ट्रकमा तोडफोड भएको छ । आज विहान तीन बजे आँप लिएर बजार क्षेत्रमा प्रवेश गरेको यूपी ४१ ए टी २६९१ नम्वरको भारतीय मालबाहक ट्रकमा तीन जना युवाहरुले तोडफोड गरेका हुन् । स्कुटरमा आएका युवाले गाडीको अगाडिको सिसा फुटाइदिएका छन् ।

उनीहरुले पेट्रोल छर्किएर आगो लगाउने समेत प्रयास गरेको फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए । ‘ती युवाहरुले तोडफोडपछि पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेका रहेछन, तर चिसोका कारण सलाई ओसिएपछि आगो नबल्दा ट्रक जोगियो,’ अध्यक्ष धितालले भने, ‘यसले ब्यापारीहरुमा भय बढाएको छ ।’ सो ट्रकमा पाँच टन आँप थियो । ट्रकमा तोडफोड गर्दै आगजनीको प्रयास गरेपछि केही ब्यापारीहले प्रतिकार समेत गरेका थिए । त्यसपछि ती युवाहरु स्कुटरमै फरार भएको चितवन प्रहरीले जनाएको छ ।
चितवन प्रहरीका प्रवक्ता एकनारायण कोइरालाले दोषीहरुको पहिचान नभएको बताए । प्रहरीले तोडफोड गर्नेहरुको खोजी कार्य तीव्र पारिएको जनाएको छ ।

चितवनकै सबैभन्दा ठूलो यो तरकारी बजारमा सीसीटीभीसमेत छैन । तर बजारको सुरक्षाका लागि सीसीटीभी जडानको प्रकृया भने अघि बढाइएको अध्यक्ष धितालले बताए ।

सम्बन्धित खवर