सरकारी गाडी गुड्न नदिने विप्लवको घोषणा - Crazysaptahik.com

सरकारी गाडी गुड्न नदिने विप्लवको घोषणा


क्रेजी साप्ताहिक
पथरी । सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले राज्यले गरेको दमनविरूद्ध साउन ७ गतेदेखि सरकारी गाडी गुड्न नदिने घोषणा गरेको छ ।

विप्लव समूहका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंगले बुधबार विज्ञप्ति निकालेर राज्यको कदमविरुद्ध साउन ७ गतेदेखि सेतो नम्बर प्लेट (सरकारी गाडीहरु) सडकमा गुड्न नदिने घोषणा गरेका हुन् । ‘हाम्रो पार्टी एकीकृत जनक्रान्तिको वैज्ञानिक कार्यदिशाको सफल कार्यान्वयनका साथ अगाडि बढिरहेको छ । यस प्रक्रियामा प्रतिक्रियावादी सत्ता र जनसत्ता बीचको मोर्चाबन्दी झन् कसिलो बन्दै गइरहेको छ,’ मध्य पश्चिम कमाण्ड इन्चार्ज वीरजंगले विज्ञप्तिमा भनेका छन, ‘राजनीतिक लडाइँको मोर्चामा हारेको सत्ताले हाम्रा नेता कार्यकर्तालाई गैरन्यायिक गिरफ्तारी, दमन, यातना र हत्याका घटना गराएको छ । यसरी हाम्रो आन्दोलनलाई ठेगान लगाउन नसकेपछि वार्ताको भ्रमपूर्ण प्रचारसहित अरू दमनको तयारी गरिरहेको छ ।’ वीरजंगले जनप्रतिनिधिहरू भ्रष्टाचारमा लिप्त भएको आरोप समेत लगाएका छन् । गाउँ गाउँमा सिंहदरबारको नाममा चर्को कर अुसली र दमन अभियान चलाइएकाले प्रतिरोधमा उत्रिनुपरेको उनले बताएका छन् ।

‘गाउँ–गाउँमा सिंहदरवारको नारामा गठित स्थानीय सरकारले चर्को कर असुल्ने र जनतामाथि नै दमन गरेर जनपक्षीय आवाजलाई बन्द गर्ने काम गर्दैछ । जनप्रतिनिधिहरु नै ठेक्कामा सामेल हुने, आफ्नै टिप्पर, ट्रक, ट्याक्टर र स्काभेटर प्रयोग गर्दै राज्यको सम्पत्ति दोहन गरिरहेका छन’, विज्ञप्तिमा भनिएको छ, ‘कतिपय जनप्रतिनिधि नै कार्यकर्ता हत्या र सुराकीको भूमिका खेलिरहेका हुनाले हाम्रो पार्टीले आगामी दिनमा ती सबै काम बन्द गर्ने निर्णय गरेको छ ।’

राज्य दमनमा उत्रँदै पार्टीलाई प्रतिबन्ध लगाउने, नेता कार्यकर्ताको हत्या, हिरासतमा राखी यातना र शान्तिपूर्ण भेला गर्न नदिएको उनले दाबी गरेका छन् । त्यहीविरूद्ध प्रतिरोधका लागि साउन ७ गते सेतो नम्बर प्लेटका गाडीहरु सडकमा गुड्न नदिने घोषणा गरिएको विप्लव नेकपाले गरेको छ । उक्त निर्णय नटेरे कारवाही चलाउने समेत उनले बताएका छन् ।

सम्बन्धित खवर