हरियाली वनले पायो गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार - Crazysaptahik.com

हरियाली वनले पायो गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार


क्रेजी साप्ताहिक
पथरी । पथरीशनिश्चरे –२ मा अवस्थित हरियाली सामुदायिक वन समूहले गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय प्रथम पुरस्कार—२०७६ पाएपछि पत्रकार तथा उपभोक्ताहरुसँग खुशियाली साटासाट गरेका छन् ।

उक्त सामुदायिक वनले वन मन्त्रालय अन्तरर्गत वन तथा भूसंरक्षण विभागले २०७६ को गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय प्रथम पुरस्कार—२०७६ प्राप्त गरेको छ । एक लाख राशीसहितको पुरस्कार थापेर पथरी आएपछि शुक्रबार पत्रकार, उपभोक्ता र वन कर्मचारीहरुसँग भेटघाट गरी खुशीयाली साटासाट गरेका थिए । हरियालीलाई वन विभागले असार ३१ गते काठमाडांैमा पुरस्कार वितरण गरेको थियो । वनका अध्यक्ष काबुल बहादुर मगर (विकास)ले भन्दै थिए ‘यो पुरस्कार पाउँनुमा उपभोक्ताहरुको मेहनत, वन कर्मचारीहरु र सञ्चारकर्मीहरुको पनि महत्वपूर्ण भूमिका रहेको छ ।’ वन विभागले गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय प्रथम पुरस्कार हरेक वर्ष देशभरबाट एउटा सामुदायिक वनलाई पुरस्कृत गर्दछ । देशभर रहेको २२ हजार समुदायिक वन मध्येबाट यो वर्ष पथरीको हरियाली सामुदायिक वन उत्कृष्ट भएको हो । पुरस्कार १ नम्बर प्रदेशमै प्रथम भएको डिभिजन वन कार्यालय मोरङको प्रमुख विशाल घिमिरेले जनाए ।

वन व्यवस्थापान, गरिबी न्युनिकरण, सामाजिक विकासमा उत्कृष्ट हुनुको साथै सुशासन रहेको आधारमा वन विभागले पुरस्कृत गरेको सव डिभिजन वन कार्यालय पथरीका प्रमुख महोमद अलाउदिनले जनाए । हरियालीले यसअघि पनि गणेशमान सिंह पुरस्कारकै सान्त्वना पाएका थिए । यसैगरी २०७५ मा मोरङ जिल्लामा प्रथम, २०७४ मा जिल्ला दोस्रो र २०६३ मा जिल्लाकै सान्त्वना पुरस्कार प्राप्त गरिसकेको थियो । पत्रकार सम्मेलनमा सामुदायिक वन समूहका अध्यक्ष काबुलबहादुर मागरले वन क्षेत्रमा चरिचरण, डडेलो, चोरी तस्कारी, फोहोर मैला जथाभावि फाल्ने कार्यहरु पूर्ण रुपमा बन्द गरेको दाबी गरे । तारबार विना पनि पुःनरुत्पादित विरुवाहरु सतप्रतिशत संरक्षण गरेको, समूहले वार्षिक २८ हेक्टरमा झाडी सफाइ र २८ हेक्टरमा थिनिङ पुनिङ (बाक्लो विरुवा छाट्ने), अग्नी रेखा निर्माण गर्दै आएको छ । खालि खाल्सामा विभिन्न जातको विरुवा लगाइदै आएको छ ।

हरियाली सामुदायिक वनले गरिवी न्युनिकरण कार्यक्रम अन्तरर्गत हरेक वर्ष ५ लाखका दरले थप हुदै जानेगरी घुम्ति कोष स्थापना गरेको, सिलाइकटाइ, कृषि तालिम, खाट वितरण, शौचालय निर्माण, बर्षमा दुई वटा घर अति विपन्न उपभोक्ता सदस्य घर निर्माण तथा हस्तान्तरण, दीर्घ रोगी उपभोक्ता सदस्यहरुलाई अवस्था हेरी रु. १० देखि ६० हजारसम्म नगद आर्थिक सहयोग गर्दै आएको जनाइएको थियो । सेवा क्षेत्र भित्रको सरकारी तथा गैर सरकारी संघ, संस्थाहरुबाट सहयोग नुपुगेको क्षेत्रमा पुल, कल्भर्ट, बाटो ग्राभेल, ग्रामीण विद्युत विस्तार, सिंचाइ, सामुदायिक विद्यालयहरुलाई आर्थिक सहयोग गर्दै आएको अध्यक्ष मगरले बताए । काठ समूहको सदस्य भन्दा बाहिर विक्री नगरेको, समूहमा पाँच सय जनाले रोजगारी पाइरहेको पनि जानकारी दिइयो ।

वि.सं. २०५६ सालमा गठन भएको प्रस्तावित हरियाली सामुदायिक वन २०६३ मा विधान दर्ता र २०७१ पुष ९ गते जिल्ला वन कार्यालय मोरङबाट स्वीकृत कार्ययोजनासहित समुदायमा हस्तान्तरण भएको हो । समूह पथरीशनिश्चरे नगरपालिका वडा नम्बर २, ३ र ७ नम्बर वडाका एक हजार २८ घर धुरी उपभोक्ता सदस्यहरु छन् । वनको २४५.९४ हेक्टर क्षेत्रफल रहेको छ । कार्यक्रममा समुहको लेखा संयोजक केशव दाहाल, सचिव चन्द्रकला गुरुङ, सहसचिव रमेश दाहाल लगायतले बोलेका थिए । पत्रकार सम्मेलनपछि पत्रकारहरुलाई वन भ्रमण गराएका थिए ।

सम्बन्धित खवर