पौडेलको मृत्युबारे छानविन गर्न विपक्षीको दबाब, संसद अवरुद्ध गर्ने चेतावनी - Crazysaptahik.com

पौडेलको मृत्युबारे छानविन गर्न विपक्षीको दबाब, संसद अवरुद्ध गर्ने चेतावनी


क्रेजी साप्ताहिक
पथरी । विप्लव नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विषयलाई लिएर राजपाले आज पनि संसद अवरुद्ध पार्ने चेतावनी दिएको छ । यसअघि पनि यसै विषयलाई लिएर कांग्रेस र राजपाले बैठकमा नाराबाजी गरी अवरुद्ध पारेका थिए ।
दोहोरो भिडन्तमा मारिएको भनिएका पौडेलको हत्या घटनाको छानविन गर्न संसदीय समिति बनाउनु पर्ने कांग्रेससहित विपक्षी दलहरुको माग छ ।

गएको बुधबार बाढी तथा पहिरोका कारण देशभर भएको क्षतिबारे जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्न सरकार तयार भएपछि अवरुद्ध नगर्ने सहमति भएको थियो । सहमतिपछि बैठक सुचारु भएको थियो । तर सोमबारको बैठक भने कुमार हत्याको छानविन गर्न समितिको माग पुरा नगरेका कारण विपक्षीले अवरोध यथावत् राख्ने भएको हो । आइतबार रिपोर्टर्स् क्लबमा आयोजित पत्रकार सम्मेलनमा राजपा नेपालका अध्यक्ष मण्डलका नवनियुक्त संयोजक राजकिशोर यादवले सरकारले सोमबारसम्म सर्लाहीमा संविधानको बर्खिलापमा गैरन्यायिक हत्या भएको र उक्त प्रकरणबारे संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने चेतावनी दिएका थिए ।

‘हामीले सदनभित्र यो हत्या प्रकरणको बारेमा सत्य, तथ्य छानबिन हुनुपर्छ भनेर आवाज उठाइरहेका छौँ । तर, अहिलेसम्म सरकारले संसदीय समिति गठन गरेको छैन । भोलिसम्म पनि समिति गठन नगरे हामी भोलि बस्ने सदनपनि अवरुद्ध गर्छौँ’, यादवले भनेका छन् । सर्लाहीको लालबन्दीमा पौडेल प्रहरी कारबाहीमा मारिएको गृहमन्त्रीले पटक पटक संसदमा जवाफ दिइसकेका छन् । दुईवटा मोटरसाइकलमा आएका विप्लवका चार नेताले प्रहरीमाथी गोली प्रहार गरेपछि प्रहरीले आफ्नो सुरक्षाका लागि गोली चलाउँदा उनको मृत्यु भएको प्रहरीले दाबी गर्दै आएको छ ।

विप्लव समूहले भने सर्लाहीको लखन्ती खोलामा साथीहरु कुरिरहेको अवस्थामा नियन्त्रणमा लिएर चिनिसकेपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरेको जिकिर गरेको थियो ।

सम्बन्धित खवर