
गोविन्दराज नेपाल
संघर्ष, सिकाइ, सफलता, उपलब्धि, जित, हार, यी सबै खेलाडी जीवनका अपरिहार्य चक्र हुन् । केहीलाई भाग्यले पनि साथ दिन्छ तर त्यसमा आफ्नो मेहनत मिसाएन भने त्यो अपुरो हुन्छ ।
प्रेरणा कोइरालाको खेल जीवनमा पनि यही लागु हुन्छ । नेपालमा महँगो खेलका रुपमा चिनिने टेनिसमा लागेर उनले छोटो समयमै स्मरणीय उपलब्धिहरू हासिल गरेकी छन् । यस क्रममा उनले थुप्रै चुनौतीका क्षणहरूलाई पन्छाउँदै आफ्नो लक्ष्यमा दृढ भएर अघि बढिन् ।
१७ वर्षीया प्रेरणा अहिले नेपालको नम्बर वान महिला टेनिस खेलाडी हुन् । पछिल्लो समय उनी एकपछि अर्को सफलताको भ¥याङ उक्लिरहेकी छन् । यहाँसम्म आइपुग्दा प्रेरणाले गरेको संघर्ष पनि उत्तिकै प्रेरणादायी छ । तर अझै लामो यात्रा तय गर्नुछ उनलाई ।
टेनिस खेलबाट देशको नाम विश्वमा चिनाउने र आफूले पनि ठूलो सफलता हात पार्ने सपना देखेकी छिन् प्रेरणाले ।
अहिले कोरोना भाइरसको महामारीले गर्दा विश्व नै त्रासमा छ । नेपालमा यसको नियन्त्रणका लागि लामो समयदेखि लकडाउन गरिएको छ । लकडाउनका कारण खेल क्षेत्र त ठप्पप्रायः छ । तर प्रेरणाले भने यो लकडाउनको अवधिलाई पनि खेर जान दिइरहेकी छैनन् ।
प्रेरणा अहिले आफ्नो परिवारसँग काठमाडौंको चाबहिलमा बस्छिन् । उनको दैनिकी बिहान ४ बजेदेखि सुरु हुन्छ । बिहानै उठेर बुबा र भाइसंँग रनिङमा निस्किन्छिन् । दैनिक ६ किलोमिटर दौडेपछि घर फर्केर आराम गर्छिन् । ब्रेकफास्ट लिन्छन् ।
लकडाउनमा प्रेरणाले सेल्फ ट्रेनिङलाई जारी राखेकी छन् । उनले केही समयदेखि मन्डिखाटारमा ट्रेनिङ गर्न थालेकी छन् । त्यहाँ बाहिरको मान्छेलाई जान नदिइने भए पनि प्रेरणाले कसरी–कसरी मौका पाइन् । उनलाई दैनिक १ घण्टा ट्रेनिङ गर्न दिइएको छ ।
उनी १० बजेतिर ट्रेनिङका लागि जान्छिन् । प्रेरणाका नियमित कोच राजकुमार लामा भक्तपुर बस्ने भएकोले उनलाई ट्रेनिङ गराउन भ्याउँदैनन् । त्यसैले उनले स्पेनी नागरिक पउल मार्टिनलाई पार्टनर बनाएर ट्रेनिङ गरिरहेकी छिन् ।
‘मेरो सबै ट्रेनिङ राजकुमार गुरुले नै हेर्ने हो । अहिले पउलसँग ट्रेनिङ पार्टनरको रुपमा मात्र खेलिरहेको छु । अरू केही चेन्ज गर्दैन उसले,’ प्रेरणाले भनिन् ।
लकडाउनले गर्दा अहिले सबै खेलाडीको दैनिकी फेरिएको छ । प्रेरणाको दैनिकीमा पनि फेरबदल आएको छ । ३ महिनासम्म लक्ड भएर बस्दा उनको नियमित रुटिन बिग्रिएको छ । तर उनी अहिले यसलाई नकारात्मकभन्दा पनि सकारात्मक रुपमा लिइरहेकी छन् ।
‘धेरैले लकडाउनलाई नकारात्मक रुपमा हेरेका छन् । तर मलाई त फाइदा पनि छ । मैले एक वर्ष पढेको थिइनँ । लकडाउनले गर्दा पढ्ने टाइम पाएँ,’ प्रेरणाले भनिन् ।
१७ वर्षीया प्रेरणा हाल तीनकुनेस्थित पेन्टागन कलेजमा कक्षा १२ मा अध्ययनरत छिन् । अरू बेला खेलले गर्दा नियमित कलेज जान नपाएकी उनी अहिले पढाइमा नै केन्द्रित हुन खोजिरहेकी छन् । लकडाउन सुरु हुनुअघि उनी १२ को परीक्षा दिने तयारीमा थिइन् । तर लकडाउनले परीक्षा समेत अनिश्चित बनेको छ । अहिले उनी त्यही परीक्षाको लागि तयारीमा छिन् । उनी आफ्नो कमजोरीहरू पत्ता लगाइ त्यसमा सुधार गर्दै छिन् ।
यसअघि प्रेरणा वर्षमा एक महिना वा केही बढी समय मात्र पढ्थिन् । अहिले हरेक दिन पढाइका लागि निश्चित समय छुट्याएकी छन् । ‘ममा जे कमजोरी छ, त्यसमा सुधार गरिरहेको छु । कोरोना भाइरसले रुटिनलाई इफेक्ट त गरेको छ तर म्याचहरू सबै रद्द भएपछि अरू काम पनि थिएन । प्रेरणा जुनियर उमेरमा खेल्दै गरे पनि उनले निश्चित लक्ष्य राखेर तयारी गरिरहेकी छन् ।
‘मेरो त त्यही नै हो तर प्रक्रियामा हल्का संशोधन गरेको छु । फिटनेससँगै पढाइलाई पनि ध्यानमा राखेर अघि बढिरहेको छु’ । अबको ३–४ महिना म्याच नहुने सम्भावना रहेकोले पनि उनलाई पढाइमा केन्द्रित हुन मौका मिलेको छ । अहिले चाहिँ योजना बनाउने कमजोरी सुधार गर्ने र परिवारसंँग समय बिताउने उनको दैनिकी छ ।
प्रेरणाको ध्यान कोरोनापछि खेलमा फर्कँदा कसरी तयार रहने भन्नेमा पनि छ । उनले एउटा डायरी नै बनाएर कोरोनापछिको योजना बुनिरहेको बताइन् । ‘मैले कुन–कुन पक्षमा सुधार गरेँ भने म्याचहरू जित्न सक्छु भनेर एउटा डायरीमा लेखेको छु । त्यसलाई हेर्दै अगाडि बढ्ने हो,’ उनले भनिन् ।
खेलाडीहरूले शारीरिकसँगै मानसिक रूपमा पनि आफूलाई बलियो राख्नुपर्ने प्रेरणा बताउँछिन् । ७० प्रतिशत जित मानसिक आधारमा हुने उनको विश्वास छ । आफूलाई मानसिक रूपमा बलियो बनाउन उनले विभिन्न योगाहरू गरिरहेकी छन् ।
प्रेरणाले १२ को परीक्षा दिएपछि विदेशमा खेल्ने योजनासहित तयारी पनि सुरु गरेकी थिइन् । युरोपियन राष्ट्र सर्वियामा खेल्नका लागि योजना बनिरहेको थियो । तर कोरोनाले त्यो सबै रोकिदियो ।
‘सर्वियामा खेल्न जाने योजना थियो । क्यानडाका लागि पनि प्लान गर्दै थियौँ । सबै क्यान्सिल भयो,’ उनले सुनाइन् । नेपालमा भने तत्काल कुनै प्रतियोगिताको योजना नबनेको उनको भनाइ छ ।
प्रेरणाले पछिल्लोपटक पोखरामा भएको जुनियर आइटीएफ खेलेकी थिइन् । त्यसमा उनले महिलातर्फ उपाधि जितेकी थिइन् ।
गत मंसिरमा नेपालमै भएको १३औं सागमा प्रेरणाले आफ्नो क्षमता जाँच्ने अवसर पाइन् । साथै, उनले पदक समेत जितिन् । उनले नेपालका लागि कास्य पदक जितेकी थिइन् । ‘साग मेडलले एकदमै हौसला बढेको छ । कसरी खेल्नुपर्ने रैछ, भारतीयहरूलाई कसरी जित्न सकिन्छ, के–के पार्टमा सुधार गर्नुपर्छ भन्ने थाहा भयो,’ उनले भनिन् । अब आफ्ना कमी–कमजोरी सुधार गर्दै अर्को सागमा अझै राम्रो गर्ने उनको लक्ष्य छ ।
‘अर्को सागमा स्वर्ण नै आउने हिसाबले अभ्यास गर्दै छौं । दुई वर्षको लागि अहिलेदेखि नै एउटा राम्रो प्लान सेट गरेका छौं । आफैँ तयार गर्दै व्यक्तिगत रुपमा लागिरहेको छौं,’ उनले भनिन् ।
विराटनगरमा हुर्केकी प्रेरणा सुरुमा क्रिकेट खेल्थिन् । उनको बाबा पुरुषोत्तम कोइराला भलिबल खेलाडी थिए । बाबा खेलाडी हुँदा त्यसको असर छोरीमा पनि देखियो । ‘बाबालाई खेलकुदमा राम्रो हुन्छ भन्ने सुरुमै लागेको थियो,’ उनले भनिन् । प्रेरणा विराटनगर छाडेर परिवारसँगै काठमाडौं आइन् । काठमाडांैको आइडियल स्कुलमा कक्षा एकदेखि नै पढ्न सुरु गरिन् ।
६–७ कक्षामा हुँदासम्म उनको झुकाव क्रिकेटतर्फ थियो । तर बुबाको कारण उनी क्रिकेटबाट टेनिसतिर लागिन् ।
‘म क्रिकेट खेल्थेँ । टेनिसमा रुचि थिएन । तर बाबाले टेनिसबारे बुझाउनुभयो । कोचसँग पनि कुरा गर्नुभयो । मलाई टेनिस खेल्न प्रेरणा दिनुभयो । उहाँकै कारणले क्रिकेट छोडेर टेनिसमा लागेँ,’ प्रेरणाले भनिन् ।
प्रेरणा स्कुल पढ्दा टेनिस प्रशिक्षक थिए राजकुमार लामा । लामाले उनलाई कम्पाउण्डमै नेट लगाएर प्राक्टिस गराउन थाले । त्यसपछि नक्साल भाटभटेनी नजिकै रहेको हेम्स टेनिस एकेडेमीमा गएर उनले आधारभूत तालिम लिइन् । बिस्तारै सातदोबाटो कोर्ट, रंगशालामा रहेको कोर्टमा गएर खेल्न थालिन् ।
टेनिस खेल्दै गर्दा प्रेरणाले मेहनत त गर्थिन् नै कहिलेकाँही परिस्थितिसँग पनि संघर्ष गर्नुपर्ने हुन्थ्यो । उनको यात्रामा विभिन्न चुनौतीहरू नआएका होइनन् तर उनले हिम्मत नहारेकैले अहिले यो स्थानमा छिन् । टेनिस खेल्न सुरु गरेपछि उनले विभिन्न म्याचहरूमा भाग लिन थालिन् । सुरुमा धेरै म्याचहरू हारिन् । एक समय त हिम्मत पनि हारिन् । निराशाका कारण ८ महिना उनी खेलबाटै बाहिर रहिन् ।
प्रेरणा ती दिन सम्झिन्छिन्, ‘खेल्न छाडेपछि म कमजोर हुँदै गएँ । टेनिस मेरालागि होइन कि जस्तो सोचाइ पनि आएको थियो ।’
तर उनी फेरि हिम्मत बटुलेर खेलमा फर्किइन् । प्रशिक्षक र परिवारको साथ उनलाई थियो नै । मनमा इख पनि थियो । यही इखलाई उनले शक्तिमा बदलिन् । आफ्नो रफ्तारलाई बढाइन् ।
खेल्दै जाँदा प्रेरणाले टेनिसमै भविष्य देख्न थालिन् । टेनिसमै रमाउन थालिन् । हारभन्दा जितको संख्या बढ्दै गयो ।
‘देश चिनाउनका लागि टेनिसजस्तो प्ल्याटफर्म मैले पाउँदिन भन्ने लाग्यो । त्यसपछि ठिक समयमा ठिक निर्णय लिएँ,’ उनले भनिन् । प्रेरणाले एउटा चुनौतीको क्षणलाई पार लगाइन्, तर संघर्ष अझै सकिएको थिएन । खेल जित्न मात्र नभएर आर्थिकरुपमा समेत उनले संघर्ष गरेकी छिन् र त्यो क्रम अझै जारी छ ।
‘टेनिस एकदमै महँगो गेम हो, स्पोन्सर चाहिन्छ । मलाई धेरै जनाले सहयोग पनि गर्नुभको छ । तर अझै स्पोन्सरहरू पाएँ भने अगाडि खेल्न सजिलो हुन्छ ।’
आफ्नै खेलमा समेत उनलाई कहिलेकाहीँ के नपुगेको के नपुगेको जस्तो हुन्थ्यो । धेरै कुरा चित्त नबुझ्ने, खेल हार्दा मनोबल गिर्ने । अन्तर्राष्ट्रियस्तरमा खेल्दा उनी सानै थिइन् । त्यसैले पनि खेल हार्दा उनलाई नराम्रो लाग्नु स्वाभाविक थियो ।
‘त्यसबेला भर्खर नेपालमा आफ्नो उमेरको खेलाडीलाई जितिराथेँ । अन्तर्राष्ट्रिय खेलाडीसँग खेल्दा गाह्रो लाग्न थाल्यो । यहाँ नहारेको मान्छे त्यहाँ गएर हार्दै जान थालेपछि तनाव हुन्थ्यो,’ प्रेरणाले भनिन्, ‘यहाँ एकदमै हौसला बढेको हुन्छ, उता हार्दै गएपछि जिरोमा पुग्छ । अनि एकदम निराशा उत्पन्न हुन्छ ।’
जब सफलता हात पर्दै जान्छ, अरूको हेर्ने नजर परिवर्तन हुन्छ । सबैले समर्थन पनि गर्न थाल्छन् । त्यसैले अहिले खेललाई हेर्ने नजर परिवर्तन भएको प्रेरणाले बुझेकी छन् । विदेशमा रहेका उनका आफन्तले पनि अहिले प्रशंसा गर्न थालेका छन् ।
– अनलाइनखबर

