लर्ड बुद्ध साकोसद्वारा आजीवन भत्ता वितरण - Crazysaptahik.com

लर्ड बुद्ध साकोसद्वारा आजीवन भत्ता वितरण

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे–२ बुद्धचौकमा स्थापित लर्ड बुद्ध साकोसले आज आफ्ना १८ जना ज्येष्ठ सदस्यहरुलाई आजीवन भत्ता वितरण गरेको छ ।

ज्येष्ठ सदस्यहरुलाई जनही २ हजार २ सय ५० का दरले जम्मा रु.४० हजार ५ सय आजीवन भत्ता (पेन्सन) स्वरुप वितरण गरेको हो । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ का वडाध्यक्ष बाबुराम दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मासिक रु.७ सय ५० का दरले २०७८ बैशाख, जेठ र असार महिनाको पेन्सन वितरण गरिएको हो ।

पेन्सन वितरण कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष बाबुराम दाहालले राज्यले सम्मानित गरिरहेको ज्येष्ठ नागरिकहरुलाई लर्ड बुद्ध साकोसले समेत ज्येष्ठ सेयर सदस्यहरुलाई आजीवन रुपमा पेन्सन उपलब्ध गराएर सम्मान गर्ने नयाँ कार्यको प्रशंसा गर्दै आफूलाई औधी खुशी लागेको बताउनुभयो । मासिक रु. २ सय प्रारम्भ भएको पेन्सन २०७८ श्रावणदेखि मासिक रु.८ सय ५० हुने र उक्त रकमले ज्येष्ठ सदस्यहरुलाई केही नभए पनि दिर्घरोगबाट ग्रसित ज्येष्ठ सदस्यहरुलाई महिनाभर खानु पर्ने औषधि खरिद वा अन्य इच्छा लागेको कार्यमा खर्च गर्न सुविधा भइरहेको हुनाले आगामी दिनमा कोषको आधार बलियो बनाउँदै क्रमशः पेन्सन रकमलाई वृद्धि गर्दै लगिने योजना रहेको संस्थाका सचिव महेन्द्र ढुंगानाले जानकारी दिनुभयो ।

वि.सं. २०७४ साल बैशाखदेखि प्रारम्भ भएको आजीवन पेन्सन कार्यक्रम अन्तर्गत २०७४ सालभर मासिक रु.२ सय, २०७५ सालभर मासिक रु.४ सय, २०७६ सालभर मासिक रु. ६ सय र २०७७ बैशाखदेखि २०७८ असारसम्म मासिक रु.७ सय ५० का दरले ज्येष्ठ सदस्यहरुलाई संस्थाले आजीवन पेन्सन उपलब्ध गराइरहेको छ भने आ.ब. २०७८÷०७९ भर मासिक रु.८ सय ५० दरले पेन्सन उपलब्ध गराउने संस्थाको योजना रहेको छ ।

प्रत्येक ३÷३ महिनामा संस्थाले पथरी शनिश्चरे नगरपालिकाका १ जना वडा अध्यक्षलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेर पेन्सन उपलब्ध गराउँदै आइरहेको छ । संस्थाले ज्येष्ठ सदस्यहरुको जन्मदिन केक काटेर मनाईदिने र उपहार समेत प्रदान गर्ने, हरेक वर्ष १ जनालाई सम्मान गर्ने, तिर्थाटन भ्रमणमा सहभागी गराउने जस्ता कार्यहरु समेत गर्दै आइरहेको छ ।

सम्बन्धित खवर