क्रेजी संवाददाता
पथरी । जिल्ला वचत तथा ऋण सहकारी संघ मोरङले पथरी शनिश्चरे सहितका नव निर्वाचित जनप्रतिनिधिहरूलाई आइतबार स्वागत सम्मान गरेको छ ।
पथरी शनिश्चरेमा आयोजित २ दिने साकोस गोष्ठीको समापनका कार्यक्रमका सन्दर्भमा सहकारी प्रवद्र्धनमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै पथरी शनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले सहितका जिल्लाका पालिकाहरुका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई स्वागत सम्मान गरिएको हो ।
संघका केन्द्रीय अध्यक्ष परितोस पौडेल, बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सहितले स्वागत सम्मान गर्दै तिन खम्बे अर्थनीतिमा एउटा खम्बाका रुपमा सरकारले लिएको सहकारी संस्थाको नियमन सहितको प्रवद्र्धनमा स्थानीय पालिकाहरुको भूमिकालाई महत्वपूर्ण रुपमा कार्यान्वयनमा उतार्न अनुरोध गर्नुभयो ।
संघका अध्यक्ष सोमनाथ निरौलाको अध्यक्षताको कार्यक्रममा, संघका जिल्ला सल्लाहकार ताराबहादुर काफ्लेले संघीयतामा सहकारी ः स्थानीय तहको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यसमाथि सहकारी विभाग १ नम्बर प्रदेशका रजिष्टार हरिबहादुर खत्रीले टिप्पणी गर्नुभयो ।