क्रेजी संवाददाता
पथरी । गर्मी बढेसँगै मोरङको पथरी शनिश्चरे वडा नं. २ मा स्थापित हरियाली पौडी पोखरीको क्रेज ह्वात्तै बढेको छ । अहिले प्रायः दैनिकजसो पोखरीमा पौडी खेल्ने युवा युवती, बालबालिकाहरुले भरिभराउ हुनेगरेको छ ।
जेठ २५ गते नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गर्नुभएको पौडी पोखरीले छोटो समयमै लोकप्रियता हासिल गरिरहेको छ । पौडी खेल्नलाई पथरी शनिश्चरेका अलवा उर्लाबारी, जाँते, लेटाङ, कानेपोखरी, अमरदह, हसन्दह हुँदै विराटचौक सम्मका पौडीका पारखीहरु आउने गरेको हरियाली कम्पनी लि. का प्रवन्ध निर्देशक रोहित बास्तोलाले जानकारी दिनुभयो ।
पौडी पारखीहरुले हाल आइसक्रिम आइटम र विभिन्न ब्राण्डका कुल्फीहरुको स्वाद लिन सक्ने भएका छन् । हरियली वनका अध्यक्ष काबुलबहादुर मगर (विकास)का अनुसार पौडी खेल्न आउनेहरुको मागलाई पूरा गर्न कम्पनीले आइसक्रिम र कुल्फीका व्राण्डहरु ल्याएको हो । पौडी पोखरीमा शुक्रबार र शनिबार ६ देखि ७ सय बढीले टिकट काटी पौडी खेल्ने गरेको कम्पनीले जनाएको छ ।