विगत लुकाउनु समझदारी हो भने वर्तमान लुकाउनु धोखा दिनु हो । यदि यी कुराहरुलाई ध्यान दिने हो भने श्रीमान् (श्रीमतीबीचको भरोसा झन् बलियो हुन्छ र आपसी प्रेम बढ्दै जान्छ ।
हाम्रो जीवनमा कुनैपनि सम्बन्ध अति महत्वपूर्ण हुन्छ । यीनै सम्बन्धहरुमा श्रीमान्(श्रीमतीको सम्बन्ध सबैभन्दा विशेष र नजिक हुन्छ । भनिन्छ, श्रीमान् श्रीमती शरीर दुई तर आत्मा एक हुन् । जीवनरुपी गाडी यीनै दुई पाङ्ग्र्राको सहायतामा चल्ने गर्छ । त्यसैले दम्पत्तिले एक अर्काको सम्बन्धमा प्रेम, साथ र सहयोग दिनु अति आवश्यक हुन्छ ।
पुरुषको तुलनामा महिलाहरु धेरै भावुक हुन्छन् । उनीहरुमा साना ठूला तथा राम्रा नराम्रा कुराको छिट्टै प्रभाव पर्छ । तर तीनै महिलाको भित्री मन पुरुषको तुलनामा अति नै बलियो हुन्छ । त्यसैले उनीहरु ठूलाभन्दा ठूला पीडा पनि सहन सक्छन् र कसैलाई यसको बारेमा थाहा समेत हुन दिँदैनन् । आफ्नो श्रीमान्लाई समेत कतिपय कुराहरु बताउँदैनन् । तर दाम्पत्य जीवनमा माया प्रेम यथावत राख्नका लागि एकअर्कालाई हरेक कुरा बताउनु आवश्यक छ ।
श्रीमान् श्रीमतीको सम्बन्ध एउटा राम्रा साथीको जस्तो हुनु पर्छ । केवल श्रीमतीमात्र होइन श्रीमानले पनि हरेक कुरा श्रीमतीलाई बताउनु आवश्यक हुन्छ । यदि तपाईं संयुक्त परिवारमा रहनु हुन्छ भने आफ्नो परिवारका सदस्य र आफ्ना श्रीमतीलाई गर्नुपर्ने व्यवहार राम्रोसँग बुझ्नु पर्छ । जसरी तपाईं आफ्ना आमा(बुबा र भाइ बहिनी सहित अन्य सदस्यलाई मान सम्मान र माया गर्नु हुन्छ, त्यस्तै माया प्रेम र सम्मान श्रीमतीलाई पनि दिनु पर्छ । त्यस्तै श्रीमतीले पनि श्रीमानको भावना बुझ्नु पर्छ, उनले श्रीमानलाई परिवारको कर्तव्य पूरा गर्न सहयोग गर्नुपर्छ ।
आफ्नो बारेमा मात्र सोच्ने जस्ता कार्य गर्नु हुँदैन । अधिकांश प्रेम विवाहमा श्रीमान् श्रीमती बीचमा साथीको जस्तो व्यवहार हुन्छ, तर त्यही व्यवहार परम्परागत अर्थात् मागी विवाहमा हुँदैन भन्ने सोचाइ अधिकांश दम्पत्तिहरुको हुन्छ । यद्यपि, विवाह जस्तो भएतापनि श्रीमान् श्रीमतीबीच सामञ्जस्य भैरहनु नै सफल वैवाहिक जीवनको मूल मन्त्र हो ।
यदि दम्पत्ति बीच एकअर्काप्रतिको हरेचाह र माया बराबर हुने हो भने श्रीमान श्रीमतीलाई राम्रो साथी बन्न प्रेम अथवा मागी, जस्तो प्रकारको विवाहमा पनि कुनै फरक पर्दैन ।
हिजोआज प्रायः श्रीमान् श्रीमती कामकाजी नै हुन्छन् । यस्तो स्थितिमा दम्पत्तिको एक अर्काप्रतिको विश्वासमा कमी आउन थाल्छ । एक अर्काप्रति शंका बसेको हुन्छ । त्यसैले यस्तो स्थितिमा श्रीमान् श्रीमतीले एकअर्काको सम्पूर्ण कुरा शेयरिङ गर्नु आवश्यक छ । यसले तपाईंहरु बीचको विश्वासलाई मजबुत बनाउन सहयोग गर्छ । तर, शेयरिङ गर्ने भनेर अनावश्यक कुराहरु पनि शेयरिङ गर्नु भयो भने त्यसले तपार्इंको सम्बन्ध टुट्न पनि सक्छ । कुनै कुनै कुरा गोप्य रहँदा नै तपाईंको दाम्पत्य जीवन सुखी र खुशी रहन्छ ।
त्यस्तै सबैको आफ्नो अलग प्रकारको व्यक्तित्व हुन्छ, जुन समय बित्दै गएपछि हरेक थाहा हुँदै जान्छ । तर आफ्नो व्यक्तित्व अरुमा हावी हुन दिनु हुँदैन । हामीले स्वयम् आफ्नो भावनामा संयम राख्न सिक्नु पर्छ । समय अनुकूल अपेक्षा राख्नुपर्छ ।
श्रीमान् श्रीमतीको सम्बन्धमा कुनै किसिमको समस्या नहोस् भन्नाका लागि आपसी प्रेम, विश्वास र एकअर्काको हमराज हुनु आवश्यक हुन्छ ।