अहिले हाम्रो खानपान शैली एकदमै खराब छ । हाम्रो खाना स्वास्थ्यका लागि भन्दा पनि स्वादका लागि हुने गर्छ । त्यसैले हामी चिल्लो, पिरो, अमिलो, मसलेदार, तारेको, भुटेको, प्याकेटबन्द खानेकुरा खाने गर्छौं ।
कति खाने र कसरी खाने भन्ने कुरामा हामीलाई खासै हेक्का पनि छैन । भोक लागेको बेला होस् वा आफूलाई मिठो मसिनो लागेको बेला, पेट चर्कने गरी खाइदिन्छौं । खानामा हाम्रो कुनै नियन्त्रण छैन । बस् मिठो भएपछि पेट अटसमटस हुने गरी खाइदिन्छौं ।
अहिले बजारमा थरीथरीका तयारी खानेकुरा उपलब्ध छ । महिनौंअघि तयार गरिएका यस्ता खाद्यपदार्थ पनि हामी छिटो र छरितोका लागि खाने गर्छौं ।
त्यसैगरी सडकमा बेच्न राखिएका वा रेष्टुरेन्टका खानेकुराले पनि हामीलाई लोभ्याएको छ । हामी खानेकुरा खाएरै रमाइलो गर्ने गछौं र यस क्रममा जति पनि, जस्तो पनि खानेकुरा खाइरहेका हुन्छौं ।
हाम्रो शरीरलाई कति खानेकुरा आवश्यक छ, ती खानेकुरामा के कस्तो पोषक तत्व छ भन्ने कुरा हामीलाई ख्याल हुँदैन । हामी जिब्रोमा स्वाद लाग्ने खानेकुरा पाए जति खाइदिन्छौं ।
यसरी खराब खानपानको कारण हाम्रो पेट र आन्द्रा डस्टबिन जस्तै भएको छ । यहीकारण हामी धेरैजसो पेटका रोगी छौं । कसैलाई अपचको समस्या छ भने कसैलाई पेट फुल्ने, कसैलाई एसिडिटीको समस्या छ । धेरैजना त ग्याष्ट्रिकबाट पीडित छौं । यस्ता थुपै्र समस्याको कारण पेट फोहोर हुनु पनि हो ।
अहिले धेरैजसोले पेट र आन्द्रासँग सम्बन्धित समस्यासँग जुध्नु परिरहेको छ । पेटमा ग्यास, कब्जियत जस्ता समस्या त आम हुँदै गएको छ ।
पेटमा भएको सानोतिनो समस्याले पूरा शरीरलाई प्रभावित बनाइदिन्छ । यस्तो अवस्थामा कसरी पेटलाई प्राकृतिक रुपमा सफा बनाउने त ? आउनुहोस् चर्चा गरौं ।
पर्याप्त पानी बिहान उठ्नासाथ मनतातो पानी पिउने गरौं । दिनभरमा पनि पर्याप्त पानी सेवन गर्नुपर्छ । कम्तीमा ८ देखि १० गिलास पानी दिनहुँ पिउनुपर्छ । यसले गर्दा पेटको विकार पखालिन्छ ।
मनतातो पानीमा मह :
यदि तपाईं ग्याष्ट्रिक वा कब्जियतको समस्याबाट ग्रसित हुनुहुन्छ भने बिहान उठेपछि मनतातो पानीमा एक चम्चा मह मिसाएर पिउनुहोस् । यसले पनि तपाईंको पेट र आन्द्रालाई शुद्धीकरण गर्छ । मह र पानी पिउँदा आन्द्राको विषाक्त पदार्थ बाहिर निस्कन्छ र मेटाबोलिज्म बढ्छ ।
स्याउको रसमा कागतीको रस :
यदि तपाईं पेट र आन्द्रालाई सधैं सफा राख्न चाहनुहुन्छ, पेटको विकार हटाउन चाहनुहुन्छ भने स्याउको रस उपयोगी हुन्छ । स्याउको रसमा कागतीको रस मिसाएर नियमित पिउने गर्नुपर्छ । यसले तपाईंको शरीरमा भएको विषाक्त पदार्थ बाहिर निस्कन्छ ।
सुपाच्य खानपान :
पेटको विकार हटाउनका लागि उल्लेखित पेयले मात्र पनि पुग्दैन । तपाईंको खानपान पनि उत्तिकै राम्रो हुनुपर्छ । खासगरी सुपाच्य खानेकुरा खानुपर्छ । सजिलै पचाउने, ताजा, फाइबरयुक्त खानेकुरा तपाईंका लागि उपयोगी हुन्छ । आफ्नो खानपानमा सलाद, हरियो सागपात र फलफूललाई प्राथमिकता दिनुपर्छ ।
सक्रियता :
साथसाथै तपाईं शारीरिक रुपले पनि सक्रिय हुन जरुरी छ । पेटसम्बन्धी व्यायाम गर्न सक्नुहुन्छ वा योग गर्न सक्नुहुन्छ । शारीरिक रुपमा निष्कृय रहँदा पनि पेट तथा आन्द्रामा समस्या देखापर्छ ।
स्रोत : अनलाइनखबर