ओली-दाहाल बीच करीब दुई घण्टाको छलफल, सचिवालयको बैठक बोलाउने सहमति - Crazysaptahik.com

ओली-दाहाल बीच करीब दुई घण्टाको छलफल, सचिवालयको बैठक बोलाउने सहमति

काठमाडौं- प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचकको छलफल सकिएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको नेकपाका अध्यक्ष द्वयबीचको छलफल करीब दुई घण्टा चलेको थियो।

नेकपाभित्रको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफलका लागि ओली र दाहालको मंगलबारको भेट तय भएको थियो ।

छलफलमा दुवै अध्यक्षबीच आउँदो शनिबार, भदौ १३ मा केन्द्रीय सचिवालयको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।

थापाका अनुसार, नेकपाभित्रको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदन बैठकको प्रमुख एजेण्डा रहनेछ।

नेकपामा मध्य असारदेखि तीव्र बनेको शक्ति संघर्षले पार्टीलाई नै फुटको संघारमा पुर्‍याएको थियो । संघर्ष चर्कंदा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नुपर्ने दबाब बढेको थियो ।

शक्ति संघर्ष मत्थर पार्न अनेक चरणमा भएका भेट र छलफलपछि अध्यक्षद्वय ओली र दाहाल कार्यदल गठन गर्न सहमत भएका थिए। ओली, दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका दुई-दुई जना सहभागी कार्यदलले शनिबार, ६ भदौमा अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो ।

सम्बन्धित खवर