स्टीभ जब्सले हस्ताक्षर गरेको ‘एप्पल टू’को म्यानुअल साढे ९ करोडमा बिक्यो - Crazysaptahik.com

स्टीभ जब्सले हस्ताक्षर गरेको ‘एप्पल टू’को म्यानुअल साढे ९ करोडमा बिक्यो

संसारकै मूल्यवान ब्राण्डको रुपमा रहेको एप्पल कम्पनीका संस्थापक स्टीभ जब्सले सन् १९७३ मा जागिरका लागि दिएको दरखास्त गत महीना झण्डै ४ करोड रुपैयाँमा विक्री भएको थियो । जागिरको लागि दरखास्त हाल्ने बेलामा स्टीभ जब्स १८ वर्षका थिए र दरखास्तको निवेदनमा उनी आफैले दस्तखत गरेका थिए ।

यसबाट स्टीभ जब्सका जुनसुकै चिजहरु पनि कति मूल्यवान तथा महत्वपूर्ण छन् भन्ने पुष्टि हुन्छ ।  त्यहीँ कुरालाई पुनर्पुष्टि गर्दै हालै स्टीभ जब्सको हस्ताक्षर रहेको एउटा कम्प्युटर म्यानुअल झण्डै नौ करोड रुपैयाँ बराबरको मूल्यमा विक्री भएको छ ।

सन् १९८० मा स्टीभ जब्सले दस्तखत गरेको एप्पल टू कम्प्युटरको म्यानुअल ७ लाख ८७ हजार ४८४ अमेरिकी डलरमा हालै लिलाम भएको हो । गत अगष्ट १९ मा लिलाम भएको उक्त म्यानुअल जिम इर्शे नामक व्यक्तिले किनेका छन् ।

जिम इर्शे अमेरिकी फुटबल टिम इन्डियानपोलिस कोल्ट्सका मालिक हुन् । अमेरिकाको बोस्टनस्थित लिलामी घर आर आर अक्सनले स्टीभ जब्स हस्ताक्षरित उक्त एप्पल टू को म्यानुअल लिलामी गरेको हो ।

उक्त म्यानुअल १ सय ९६ पन्नाको छ । त्यसको विषयसूचि भएको पेजमा स्टीभ जब्सले हस्ताक्षर गरेका छन् । स्टीभ जब्सका अलावा उक्त पन्नामा एप्पलका पूर्व लगानीकर्ता माइक मार्कुलाको पनि हस्ताक्षर छ ।

स्टीभ जब्सले हस्ताक्षरसँग त्यहाँ लेखेका छन्, ‘जुलियन, कम्प्युटरसँगै हुर्कने तपाइँको पुस्ता पहिलो पुस्ता हुनेछ । जाऊ, दुनिया बदल ।’ स्मरण रहोस् जुलियन ब्रेवरका पिता माइकलले सन् १९७९ मा बेलायतमा एप्पलका कम्प्युटर वितरण गर्ने लाइसेन्सका लागि कुराकानी गरेका थिए । जुलियन त्यसबेला बच्चै थिए ।

जुलियनले आर आर अक्सनलाई बताए अनुसार उनी आफ्नो बेडरुममा एप्प्ल टू मा गेमको कोड लेखिरहेका थिए । त्यहीबेला उनका बुवाले भने, ‘आऊ एकजना पाहुनासँग भेट ।’ ती पाहुना वास्तवमा स्टीभ जब्स नै थिए । उनको घरमा आएको बेला जब्सले उक्त एप्पल टू को म्यानुअलमा सन्देश लेखेर हस्ताक्षर गरेका थिए ।

सम्बन्धित खवर