क्रेजी संवाददाता
मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङले आइतबार वृक्षरोपण तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी रजत जयन्ती धुमधामको साथ मनाएको छ ।
आदिबासी जनजाति पत्रकारहरुको साझा संस्था फोनिज आइतबारदेखि २५ औं वर्ष पुगेको छ । संस्थाको रजत जयन्तिको अवसरमा फोनिज मोरङले पथरीशनिश्चरे १० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा फलफूल लगायत विभिन्न प्रजातिको विरुवा रोपेको हो ।
फोनिज मोरङका जिल्ला अध्यक्ष दिनेश सुब्बाको सभापतित्वमा भएको कार्यक्रममा सगठनको संघीय अनुशासन आयोगको संयोजक अर्जुन जम्नेली राईको प्रमुख अतिथ्यतामा भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि जम्नेली, नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराई, फोनिज प्रदेश समितिको सल्लाहकार फिपराज बेघा, पशुपति समुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुष्पबहादुर शाही लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
आयोजक समितिको सचिव अनिल श्रेष्ठद्वारा सञ्चालन भएको कार्यक्रम उपाध्यक्ष अशोक गुरुङले स्वागत मन्तव्य राखेका थिए । फोनिजको २५ औं स्थापना दिवस संघीय समिति काठमाडौं, युरोप, अमेरिका, नेपालको हरेक प्रदेश र जिल्लाहरुमा विभिन्न कार्यक्रम गरेर मनाइएको प्रमुख अतिथि अर्जुन जम्नेली राईले बताए ।शुभकामना दिने क्रममा राईले आम पत्रकारहरुलाई व्यवसायिक र भौतिक सुरक्षा चुनौती कायम रहेको प्रसंश उल्लेख गर्दै राज्य गम्भीर हुनुपर्ने बताए ।
एक अर्को प्र्रशंगमा राईले राजनीतिक पार्टीहरु विचार, दर्शन, सिद्धान्तलाई तिलान्जली दिएर भ्रष्ट्राचारको दलदलमा फस्दै गएको, पद र पैसाको लागि जे पनि गर्नुपर्ने शन्देस प्रबाह गरिरहेको आरोप लगाउदै जनता सचेत बन्नु पर्ने बताएका छन् । राईले प्रदेश नं. १ को नाम कोशी खारेजी गरेर पहिचानको आधारमा पुन नामकरण गरिए मात्र शान्ति कायमहुने दाबी गरे ।
शुभकामना आदानप्रदान पछि उपस्थित पत्रकारहरु तथा पशुपति सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष बालकुमार मगर, सचिव, कोषाध्यक्ष, सल्लाहकार लगायतको सहभागितामा वृक्षरोपण गरेका छन् ।