आफ्नो बानी परिवर्तन गर्नुहोस बच्चालाई आत्मनिर्भर बनाउन - Crazysaptahik.com

आफ्नो बानी परिवर्तन गर्नुहोस बच्चालाई आत्मनिर्भर बनाउन

अभिभावकत्व ईश्वरीय देन हो । तर यसमा हामी थुप्रै पटक उल्झिने गर्छौं । कतिले बच्चालाई सक्षम र आत्मनिर्भर बनाउनु पर्छ भनेको सुन्छौं भने अर्कोतर्फ केही मानिसहरुले हामीलाई बच्चाको अत्यधिक हेरबिचार गर्नुपर्छ भनेर पनि सल्लाह दिइरहेका हुन्छन् ।

हाम्रोमा अभिभावकले के बुझ्न आवश्यक छ भने उनीहरुको कुन बानीले बच्चालाई आत्मविश्वासी र आत्मनिर्भर बनाउँछ र आमाबुवाको कुन बानी उनीहरुलाई मन पर्दैन । आउनुहोस्, यसबारे जानकारी लिऔं ।

सही दिशाकसरी दिने :
१. समस्याको समाधानः
बच्चा त्यतिबेला समझदार हुन्छन् जब अभिभावकले समझदारीले व्यवहार गरिरहेको उनीहरु देख्छन् । जुन परिवारमा अत्यधिक झगडा हुन्छ त्यहाँका बच्चाहरुले पनि त्यस्तै व्यवहार अपनाउने गर्छन् ।

उनीहरुभन्दा ठूला मानिसहरुले समस्याको समाधान कसरी गरिरहेका छन्, उनीहरु त्यो अवलोकन गर्छन् । खुसी र विशेषगरी तनावमा हुँदा हामी कस्तो व्यवहार गर्छौं, त्यो हेर्छन् । उनीहरुले त्यही बानी अनुशरण गर्छन् ।

२. तपाईंको प्रतिक्रियाः
हामीले हाम्रा साथी, आफन्त, सहकर्मी र अन्य व्यक्तिसँग कस्तो व्यवहार गर्छौं, त्यो पनि बच्चाहरुले हेरिरहेका हुन्छन् ।

अरुको कति वास्ता गर्छौं त्यो पनि याद गर्छन् । साथै, हामीले विभिन्न परिस्थितीमा कस्तो प्रतिक्रिया गर्छौं त्यो पनि हेर्छन् । हामीले उनीहरुलाई जतिसुकै सिकाएपनि उनीहरुले त्यही गर्छन् जुन हामीले गरिरहेका हुन्छौं ।

३. उनीहरुका लागि समयः
बच्चाहरुको व्यवहार र उनीहरुको नराम्रो बानीलाई परिवर्तन गर्नका लागि हामीले उनीहरुको दिमागमा के चलिरहेको छ, यो बुझ्ने कोसिस गर्नुपर्छ । उनीहरुसँग समय बिताउनुहोस् । खानपिन र पढाईका कुरा बाहेक उनीहरुको रुचीका अनुसार उनीहरुसँग कुरा गर्नुहोस् । उनीहरुको रुची–अरुचीमा समावेश भएर त्यसबारे सम्झाउने कोसिस गर्नुहोस् ।

४. सकारात्मक व्यवहारः
हामीले यो स्विकार्नुपर्छ कि परिवर्तन एक दिनमा ल्याउन सकिँदैन । संयम अपनाएर व्यवहार गर्नुहोस् र बच्चाको वरिपरिको वातावरणमा स–साना परिवर्तन ल्याउन खोज्नुहोस् ।

विशेषगरी हामीले हाम्रो आफ्नै व्यवहारमा परिवर्तन ल्याउनुपर्छ । हामी जति सकारात्मक हुन्छौं बच्चामा पनि आफसे आफ परिवर्तन देख्न थाल्छौं ।

५. सही मार्गदर्शनः
बच्चाहरुलाई हरेक चरणमा मार्गदर्शन गर्नुपर्छ र जब उनीहरुले कति कुरा सिकिसकेका हुन्छन् तब उनीहरुलाई उमेरको हिसाबले निर्णय लिन र काम गर्न दिनुपर्छ । उनीहरुलाई लड्न दिनुहोस् र आफैं उठ्न पनि दिनुहोस् ।

स–साना समस्याको हल उनीहरु आफैंलाई गर्न दिनुहोस् र बिना कारण कहिले पनि हस्तक्षेप नगर्नुहोस् । टाढा बाटै अवलोकन गरिरहनुहोस् ।

६. यस्ता बानीले बच्चामा नकारात्मक प्रभाव पार्छः
–  बच्चाहरुको अगाडि असाध्यै रिसाउनु
–  बच्चाहरुलाई कुटपिट गर्नु र उनीहरुमाथि चिच्याउनु
–  उनीहरुलाई अपमानित गर्नु वा अरुसँग तुलना गर्नु
–  उनीहरुलाई बेवास्ता गर्नु र उनीहरुको अगाडि रुनु
–  उनीहरुलाई हरेक कुरामा टोक्नु

७. जो बच्चा नकारात्मक वातावरणमा हुर्कन्छन् उनीहरु धेरैजसो जिद्दी, घमण्डी, असभ्य, कुण्ठित, भावनात्मक रुपमा कमजोर हुन्छन् ।

कहिलेकाँही बाहिरबाट हेर्दा त सामान्य देखिन्छन् तर भविष्यमा मनोवैज्ञानिक विकार जस्तै डिप्रेशनका शिकार हुन्छन् ।

आफ्नो व्यवहारमा संयमता अपनाएर नै हामीले बच्चालाई आत्मनिर्भर र आत्मविश्वासी बनाउन मद्दत गर्न सक्छौं र अभिभावकत्वलाई सबैभन्दा सुखद र सन्तोषजनक अनुभव बनाउन सक्छौं ।

सम्बन्धित खवर