मोरङका विभिन्न क्षेत्रबाट चुनाव लड्न एमालेबाट ५ जना सिफारिस - Crazysaptahik.com

मोरङका विभिन्न क्षेत्रबाट चुनाव लड्न एमालेबाट ५ जना सिफारिस

क्रेजी संवाददाता
विराटनगर–
आगामी मंसिर ६ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले मोरङका ४ वटा क्षेत्रका उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर २, ३ र ४ बाट एकल नाम सिफारिस भएको हो । क्षेत्रीय समन्वय कमिटीहरुले आइतबार ६ वटै क्षेत्रको नाम सिफारिस गरिसक्ने जनाएको छ ।

मोरङ क्षेत्र नम्बर २ बाट मोरङ अध्यक्ष तथा संविधानसभा सदस्य ऋषिकेश पोखरेलको एकल नाम सिफारिस भएको छ । ०७० सालको चुनावमा नेपाली कांग्रेसका आमोद उपाध्यायलाई पराजित गरेका पोखरेल २०७४ को निर्वाचनमा भने नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालसँग पराजित भएका थिए ।

क्षेत्र नम्बर ३ बाट स्थायी कमिटी सदस्य भानुभक्त ढकालको एकल नाम सिफारिस भएको छ । क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पूर्वमन्त्रीसमेत रहेका ढकालको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । २०७४ को निर्वाचनमा ढकाल सोही क्षेत्रबाट निर्वाचित सांसद हुन । उनले कांग्रेसका सुनील शर्मालाई पराजित गरेका थिए । पूनः कांग्रेसले शर्माको एकल नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर ४ बाट केन्द्रीय सदस्य विनोद ढकालको नाम सर्वसम्मत सिफारिस भएको छ । ढकाल यसअघि संविधानसभा र विराटनगर महानगरको प्रमुखमा पराजित भएका थिए । क्षेत्र नम्बर ४ बाट उनको एकल नाम सिफारिस भएको क्षेत्रीय समन्वय कमिटीले जनाएको छ ।

क्षेत्र नम्बर ६ बाट एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित र प्याब्सनका पूर्व अध्यक्ष टीकाराम पुरीको नाम सिफारिस भएको छ । सो क्षेत्रबाट पण्डितले २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई पराजित गरेका थिए । सो क्षेत्रबाट पण्डितसँगै पुरीको नाम पनि सिफारिस भएको छ ।

मोरङका क्षेत्र नं. १ र ५ को उम्मेदवार सिफारिस हुन बाँकी छ । १ बाट वर्तमान सांसद घनश्याम खतिवडा र पूर्व मन्त्री स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाङ्फे, र क्षेत्र नं. ५ बाट सामाजिक अभियन्ता योगेन्द्र मण्डलको नाम सिफारिस हुने सम्भावना रहेको एमाले नेताले बताए ।

सम्बन्धित खवर