बालेनका मुख्य सारथिसहित तीन जना रविको पार्टीमा प्रवेश - Crazysaptahik.com

बालेनका मुख्य सारथिसहित तीन जना रविको पार्टीमा प्रवेश

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अरनिकोकुमार पाँडे सहित तीन जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ ।

पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार बिहीबार बसेको बैठकले पाँडे, सुमना श्रेष्ठ र गणेश कार्कीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

साथै स्वतन्त्र पार्टीले सहमहामन्त्री कविन्द्र कुर्लाकोटीको संयोजकत्वमा उच्चस्तरीय अधिकार सम्पन्न वार्ता समिति पनि गठन गरेको छ ।

आगामी चुनावमा उम्मेदवार बन्न योग्य व्यक्तिसँग आवश्यक संवाद, चुनावी तालमेल, कार्यगत एकता समेत गरी पार्टीको प्रारम्भिक निर्वाचन प्रक्रियामा सहभागी गराउन वार्ता समिति गठन भएको हो ।

उक्त समिति सदस्यमा गणेश पराजुली, अरनिकोकुमार पाँडे, सुमना श्रेष्ठ र गणेश कार्की छन् । घोषणा पत्र तयारी समिति पनि पुनर्गठन भएको छ ।

वातावरणविद अरनिकोकुमारको नेतृत्वमा घोषणा पत्र निर्माण गर्न समिति पनि गठन भएको छ । उक्त समितिमा विपिनकुमार आचार्य, गणेश पराजुली, महेश्वर घिमिरे, सोविता गौतम, प्रभात अधिकारी, विष्णुकुमार श्रेष्ठ, कुसुम महर्जन, रामकृष्ण भट्टराई सदस्य छन् ।

यीमध्ये जलवायुविज्ञ अरनिको ललितपुर ३ बाट प्रतिनिधि सभा चुनाव लड्ने तयारीमा छन् । मोरङ पथरीशनिशचरे– ४ का गणेश कार्की काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका मुख्य चुनावी रणनीतिकार मध्ये एक हुन् । उनले महानगरलाई आवश्यक सुझाव दिने र रणनीति बनाउने काममा भाग लिँदै आएका थिए ।                                    – अन्नपूर्ण टाइम्सबाट

सम्बन्धित खवर