पशुपतिको अध्यक्षमा पुष्पराज सर्वसम्मत निर्वाचित - Crazysaptahik.com

पशुपतिको अध्यक्षमा पुष्पराज सर्वसम्मत निर्वाचित

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे–१० मा स्थापित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १३ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा पुष्पराज शाहीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

आज समूहको साधारणसभाबाट शाही अध्यक्षमा चयन भएका हुन् । यसअघि ११ औं चुनावी साधारणसभाबाट निर्वाचित प्रदिप राईको पद रिक्त रहेकोले उक्त पद पूर्तिका लागि साधारणसभाले वर्तमान कोषाध्यक्ष रहेका शाहीलाई अध्यक्षमा निर्वाचित गरेको हो । शाहीले सम्हाल्दै आएको कोषाध्यक्ष पदमा आगामी बैठकले नयाँ व्यक्तिलाई चयन गर्ने जनाइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिका प्रमुख मोहनप्रसाद तुम्बापोले समुदायले वन, जंगल, पर्यावरणीय संरक्षण गर्दै पर्यटकीय प्रवद्र्धनका लागि अघि बढ्नुपर्ने बताउनुभयो । नगर प्रमुख तुम्बापोले सरकारको एकल प्रयासले मात्रै वन– जंगल तथा पर्यावरण संरक्षण हुन नसक्ने भएकाले स्थानीय समुदायको पनि यसमा उत्तिकै दायित्व रहने कुरा स्मरण गराए । उनले जल, जंगल, जमिन र जनजीवनको अति नै घनिष्ठ सम्बन्ध रहेको भन्दै सामुदायिक वन समूहले गतिविधि सञ्चालन गर्न सुझाए ।
उक्त अवसरमा बोल्दै कार्यक्रमका विशिष्ठ अतिथि सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश महासचिव रेणुका दाहालले सामुदायिक वनहरु वनको संरक्षणसँगै सामाजिक विकासमा समेत लाग्नु पर्नेमा जोड दिइन् । उनले महिला शसक्तिकरणका लागि उद्यम विकासमा समूहले जोड दिनुपर्ने सुझाव दिइन् । दाहालले सामुदायिक वनले दिएका अनुदान र तालिमलाई के कस्ता उपलब्धी हासिल गरे अनुगमन गर्न समेत सुझाइन् ।
सो अवसरमा फेकोफन प्रदेश सदस्य अग्नी पौडेलले सामुदायिक वनको अवधारणाले मुलुकमा वन क्षेत्रको संरक्षणमा योगदान पुग्नुका साथै वनको हैसियत र जैविक विविधतामा सुधार आएको उल्लेख गरे । पौडेलले आगामी दिनमा यसको प्रयोग जनताका आवश्यकता र आर्थिक समृद्धि गर्नुपर्नेमा जोड दिए । उनले वन उद्यम सञ्चालन गरी काठको प्रतिस्थापन मात्रै होइन, अर्थतन्त्रमा टेवा पु¥याउने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याए । पौडेलले अब सामुदायिक वनले एउटा योजनाले धेरै क्षेत्रलाई समेट्ने गरी काम गर्नु पर्ने बताए ।
कार्यक्रमका विशिष्ठ अतिथि सामुदायिक वन उपभोक्ता महासंघ मोरङका कार्यवाहक अध्यक्ष मदन पोखरेलले वन समूहले वनभित्र रहेका खान योग्य वस्तुहरुको संरक्षण गर्दै त्यसको बिक्रीबाट विपन्नको आयआर्जनमा वृद्धि हुने बताए । उनले जंगलमा उम्रिएका जिब्री साग, निगुरो, च्याउ, जामुनलगायतका खाद्य वस्तुलाई आयआर्जनसंग जोड्नु पर्ने सुझाव दिए ।

यसैगरी जेष्ठ नागरिक, फरक क्षमता भएका उपभोक्ता सदस्यहरुलाई नगद र प्रसंसा पत्रले सम्मान गरिएको थियो । साथै समूहले विपन्न मुखी कार्यक्रम अन्तरगत सीपमुलक कम्प्युटर तालिममा सहभागिहरुलाई प्रमाणपत्र प्रदान र गरिव तथा जेहेन्दार छात्रछात्राहरुलाई स्टेशनरी सामग्री एवं साइकल प्रदान गरिएको थियो ।
कार्यक्रमका अवसरमा समूहकी सचिव आरती राईले वि.सं. २०५८ सालमा स्थापना भई २०७१ पुस ९ गते तत्कालिन जिल्ला वन कार्यालयबाट समूहलाई हस्तान्तरण भई सञ्चालनमा रहेको पशुपति सामुदायिक वनले १ हजार ६६ घरपरिवारलाई काठ दाउरा तथा वन पैदावर उपलब्ध गराउँदै आएको जानकारी दिइन् । सचिव राईका अनुसार पशुपति सामुदायिक वन उपभोक्ता समूहले २ सय ६६ दशमलब ३४ हेक्टर रहेमा साल, कर्मा, बो.ध., बर्रो, राजवृक्ष, अस्ना, जमुना, साधन जातका रुख विरुवाको संरक्षण र सम्बद्र्धन गर्दै आएको छ ।
समूहले २ जना वन हेरालु नियुक्ति गरेर नियमित रुपमा वन संरक्षण र चोरी तस्करी नियन्त्रण गरिरहेको छ । वन संरक्षण सम्बद्र्धनका लागि समूहले समयअनुसार अग्नी नियन्त्रण रेखा निर्माण, तार घेराबारा, डढेलो नियन्त्रण सचेतना गोष्ठी एवं वन पथ निर्माण, झाडी सफाई, विरुवा रोपण गर्ने गरेको सचिव राईले जानकारी दिइन् ।
यस्तै, विवाह, ब्रतबन्ध तथा पूजा जस्ता सामाजिक कार्यका लागि समूहले सहुलियत दरमा दाउरा उपलब्ध गराउँदै आएको छ । उपभोक्ताको मृत्यु भएमा, अशक्त विरामी, सुत्केरी तथा काजकिरिया गर्नका लागि निःशुल्क दाउरा उपलब्ध गराएको सचिव राईको भनाई छ ।
कार्यक्रममा समूहको भावी कार्यक्रमका बारेमा जानकारी दिंदै कार्यबाहक अध्यक्ष बालकुमार ठाडामगरले विभिन्न संघ संस्थाहरुसंग सुमधुर सम्बन्ध राख्दै अन्य समूहले गरेका राम्रा कामको अनुकरण गर्न अन्तरसमूह अवलोकन भ्रमण गरिने बताए । यस्तै समूहले सिमसार क्षेत्रलाई संरक्षण गर्दै पर्यापर्यटनको विकास गर्ने योजना रहेको का.बा. अध्यक्ष मगरले सुनाए । उनका अनुसार सिमसार क्षेत्रमा पाछा पोखरी, पानीको रिचार्ज सेन्टर निर्माण गरी किसानलाई सिंचाईमा उपयोग गर्ने वातावरण सिर्जना गर्ने लक्ष रहेको छ ।
समूहका उपभोक्ताहरुलाई आत्मनिर्भर बनाउन महिला तथा युवा वर्गलाई सिपमुलक तालिमको आयोजना गरिने का.बा.अध्यक्ष मगरको भनाइ छ । पत्रकार भिमराज अधिकारीले सञ्चालन गरेको कार्यक्रममा सव–डिभिजन वन कार्यालय पथरीका प्रमुख दिवशकुमार चौधरी, सव–डिभिजन वन कार्यालय कानेपोखरीका वन अधिकृत रमेश मगर, फेकोफन नगर अध्यक्ष मैनादेवी फुयल, मनकामना सामुदायिक वनका अध्यक्ष दिनेश राई, शान्ति सामुदायिक वनका उपाध्यक्ष हेमभक्ता गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर