क्रेजी संवाददाता
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं. ९, ७ र ४ मा अवस्थित शान्तिपथ सिंचाई जल उपभोक्ता समूहको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
आज समूहको वडा नं. ७ जनप्रिय टोलमा छैटौं वार्षिक साधारणसभा २०८१ सम्पन्न भएको हो ।
वि.सं. २०७५ सालमा स्थापित सो समूहको मूल समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन आ.व. २०८०/०८१ सम्मको प्रतिवेदन एवं आ.व. २०८१/८२ को प्रस्तावित कार्ययोजना प्रस्तुत गरिएको थियो । समूहको अध्यक्ष गोविन्द भण्डारीको अध्यक्षतामा भएको छैठौं वार्षिक साधारणसभाको उद्घाटन ६ वटा क्यान्डिल बाली, कार्यक्रमको व्यानर पढेर जलस्रोत तथा सिंचाई विकास डिभिजन विराटनगरका अधिकृत चोलेन्द्र विश्वकर्माले गर्नुभयो ।
उद्घाटन पश्चात् अध्यक्ष भण्डारीले अध्यक्षको कलमबाट शीर्षकमा समूहको विस्तृत जानकारी गराउनुभएको थियो । समूहका कोषाध्यक्ष मुना जोगी (दियाली)ले आय–व्यय प्रस्तुत गर्नुभएको थियो । त्यसपश्चात् उपभोक्ताहरुले समूहलाई केही जिज्ञासाहरु राखेका थिए ती जिज्ञासाहरुलाई विशिष्ट अतिथि विश्वकर्मा र अध्यक्ष भण्डारीले प्रष्टाउनुभएको थियो ।
वार्षिक साधारणसभाको अवसरमा जेष्ठ उपभोक्ताद्वय ललितादेवी ढकाल (७९) र वीरबहादुर गोले (८०) लाई नगद सहित दोसल्ला ओढाई वडा नं. ७ का वडा सदस्य नरेश राई, समूहका अध्यक्ष भण्डारी र विशिष्ट अथिति विश्वकर्माले सम्मान गर्नुभएको थियो । वडा नं. ४ का वडा अध्यक्ष लोककिरण न्यौपाने, नगर प्रमुख मोहन प्रसाद तुम्वापो र वडा नं. ७ का अध्यक्ष उद्धवराज बस्नेतले शुभकामना सन्देश पठाउनुभएको समूहका अध्यक्ष गोविन्द भण्डारीले जानकारी दिनुभयो ।