नवरात्रिको सातौं दिन आज, घरघरमा फूलपाती भित्राइँदै - Crazysaptahik.com

नवरात्रिको सातौं दिन आज, घरघरमा फूलपाती भित्राइँदै


क्रेजी साप्ताहिक
पथरी । आज बडादशैं नवरात्रिको सातौं दिन देशभर घर घरमा फूलपाती भित्राइ मनाइदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आव्हान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याउने गरिन्छ ।

गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्चपदस्थ अधिकारीहरु, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङगारिएका कल्स्यौडीहरु र सांस्कृतिक नाचगानसहितको लावालस्करले जमलमा ल्याइएको फूलपातीलाई हर्षबढाइँका साथ आज हनुमानढोकामा भित्रयाउने चलन रहेको छ ।घटस्थापनाका दिनदेखि नै दशै सुरु हुने भए पनि दशैको विशेष चहलपहल भने आजदेखि घरघरमा सुरु हुन्छ । देवी कालरात्रिले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरुको वध गरेको दिनका रुपमा महासप्तमी मनाउने गरिन्छ । आजको दिन कालरात्रि देवीको पूजा, आराधना गर्ने गरिन्छ । आश्विन शुक्लपक्षको सप्तमी तिथिलाई जनबोलीमा फूलपातीका रुपमा चिनिन्छ । आजकै दिन नवदूर्गा पूजास्थलमा केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक, जयन्तीलगायत फूलपाती भित्र्याइने भएकाले सोही नाम जनबोलीमा रहेको हो ।

सम्बन्धित खवर