धरानको मेयर पदमा कांग्रेसबाट तिलक राई उम्मेदवारी रहने - Crazysaptahik.com

धरानको मेयर पदमा कांग्रेसबाट तिलक राई उम्मेदवारी रहने

क्रेजी साप्ताहिक
पथरी । आगामी मंसिर १४ गते हुन धरानमा लागेको उपनिर्वाचनमा मेयर पदको लागि नेपाली कांग्रेसबाट तिलक राईले उम्मेदवारी रहने भएको छ । कांग्रेस उपमहानगर कमिटिको हिजो बसेको पुर्ण बैठकले नगरसभापति तिलक राईलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । यसअघि, मेयरको उम्मेदवारमा कांग्रेस जिल्ला सचिव तथा प्रवक्ता सुजेन्द्र गोले तामाङ र महाधिवेशन प्रतिनिधि पर्वत राईको पनि नाम आएको थिए । तर, निरन्तरको छलफल पश्चात कांग्रेसले सर्वसम्मत निर्णय गर्न सफल भएको हो । ‘बैठकले तिलक राईलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ,’ नगर सभापति तिलक राईले भने,‘यसले धरानमा नेपाली कांग्रेस एकतावद्ध छ भन्ने सन्देश गएको छ, अन्योलमा रहेको मतदाता र कार्यकर्ताहरुलाई पनि विश्वास दिलाएको छ, उत्साह पनि भएको छ ।’

सभापति राई यसअघि २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार रहेका थिए । सो निर्वाचनमा उनी तत्कालिन एमालेका उम्मेदवार तारा सुब्बासँग पराजित भएका थिए । निवार्चित भएर पदभार ग्रहण गरेको एक बर्षपछि मेयर सुब्बाको निधन भएपछि धरानमा मेयर पद रिक्त छ । हाद उपमेयर मञ्जु भण्डारी सुवेदीले कार्यवाहक मेयरको जिम्मेवारी सम्हालिरहेका छन् । कांग्रेस सभापति राईले अब नगरको निर्णय क्षेत्रीय समिति, जिल्ला समिति हुदै केन्द्रीय समितिमा पुग्नेछ । केन्द्रीय समितिले नै सर्वसम्मत उम्मेदवारको नाम पठाउन निर्देशन दिएकोले कांग्रेसको मेयर पदका उम्मेदवार तिलक राई नै हुने निश्चित छ ।

अब पार्टी निरन्तर वडा, टोल र घरदैलो अभियानमा जानुका साथै विभिन्न पेशा तथा क्षेत्रका ब्यक्तिहरुसँग भेट गर्ने सभापति राईले बताए । ‘मतदाताले यसपाली बैकल्पिक शक्तिकोरुपमा कांग्रेसलाई लिएको छ, जनताले परिवर्तनकारी नेतृत्व चाहेको छ,’उनले भने,‘यो निर्णयले हामीलाई मात्र होइन, केन्द्रलाई पनि उर्जा मिलेको छ ।’ उम्मेदवारका आकांक्षी एवं कांग्रेस जिल्ला सचिव सुजेन्द्र तामाङले पनि सर्वसम्मतरुपमा नै निर्णय भएको बताए । उनले पनि कांग्रेस एकढिक्का भएको सकरात्मक सन्देश दिन सफल भएको प्रतिक्रिया दिए ।

सम्बन्धित खवर