पत्रकारले बाउलाई पनि तपाईं भन्दैनन् ः प्रधानमन्त्री ओली - Crazysaptahik.com

पत्रकारले बाउलाई पनि तपाईं भन्दैनन् ः प्रधानमन्त्री ओली

क्रेजी साप्ताहिक
पथरी । पश्चिमा संस्कृतिको अनुकरण गरेर सञ्चारमाध्यम र सञ्चारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार राजधानीमा आयोजना गरेको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सञ्चारमाध्यममा प्रयोग भएका भाषाका सम्बन्धमा असन्तुष्टि जनाएका हुन् ।

उनले भाषा र संस्कृति नबिर्सन सचेत गराउदै विकसित मुलुकको संस्कृति देखासिकी गर्ने परिपाटीले नेपाली भाषा, संस्कृति र मर्यादालाई नयाँपुस्ताले बिर्संदै गएको बताए। विशेष गरेर सामाजिक सञ्जाल र सञ्चारक्षेत्रमा प्रयोग भएका भाषाप्रति उनको असन्तुष्टि छ। उनले भने,‘सभ्यताका पर्खालहरू बागमतीमा फालिए । शिष्टता, मर्यादा केही पनि छैन । पत्रकारले बाउलाई पनि तपाईं भन्दैनन् । तिमी भन्दा माथि उठेर । यो एउटा ट्रेन हो । किनभने अंग्रेजीको ‘यु’ लोभ लागेर, अर्काको एउटा ‘यु’ भन्ने शब्दको लोभ लागेर बालाई तपाईं भन्न गाह्रो लाग्यो। किनभने पैसावाला, डलरवाला, ‘यु’ वालाहरू ‘यु’ ले काम चलाउँछन् किन काम नचलाउने? सभ्यता त त्यो रहेछ भन्ने भ्रम पर्या छ। सानालाई तिमी भन्ने ठूलालाई तपाईं भन्ने स्वभाविक हो। भाषा समाजको संस्कृतिको एउटा आफ्नो प्रचलन हुन्छ आफ्नो मर्यादा हुन्छ।’

दक्षिण एसियाका कतिपय देशहरूमा जनताको सार्वभौम सत्ता खोसिएको, कुण्ठित वा मृत अवस्थामा रहेको, बलको आधारमा शासन सत्ता सञ्चालन गर्ने प्रवृत्ति देखिएको तथा केहीले लोकतान्त्रिक व्यवस्था अवलम्बन गरी राजनितिक, आर्थिक अवस्था सुदृढ गर्दै विकासको बाटोमा सुपर पावरको अवस्थामा रहेको चर्चा पनि उनले गरे। नेपाल लोकतान्त्रिक प्रणालीमा गएको भए पनि अझै पनि थिति नबस्दाका ‘धङधगीहरू’ कायमै रहेको टिप्पणी उनले गरे। ‘परिर्वतन भयो। थितितर्फ हामी गयौं। थिति नबस्दाका धङधगीहरू छँदै छन्। जसलाई फेरि हामी हिजोकै आदत अथवा हिजोका आदतले परिवर्तित सन्दर्भका छुटहरूलाई बेठीक ढंगले बुझ्ने प्रवृत्ति पनि छँदै छ। आलोचनात्मक चेत प्रमुख भएको अवस्था हाम्रो देशमा पनि छ। किनभने यसले अबको बाटो के हो भनेर जसरी समग्रतामा समाउन पर्ने त्यो अलि समात्न सकेको छैन।’ उृनले भने ।

उनले कला, संस्कृति र साहित्यमा नेपाल विश्वकै तुलनामा धनी भएको भन्दै कला, संस्कृति, सभ्यता र साहित्यलाई संवर्द्धन गर्दै अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। प्रधानमन्त्री ओलीले एसिया विकास र साहित्यको जननी भएको भन्दै उनले वास्तविक सुन्दर परम्परा र ऐतिहासिक सभ्यताको आधुनिक रूपमा विकास गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।अन्तरहिमाली साँस्कृतिक एवं साहित्यिक सम्बन्ध प्रवर्द्धनका लागि प्रतिष्ठानले चीन र दक्षिण एसियाका साहित्यकारहरूको सम्मेलन गरेको हो। सम्मेलन कात्तिक ३ गतेसम्म चल्ने छ।

सम्बन्धित खवर