डा.सुनिल शर्माको समाजसेवा घाउमा किरा परेर झिंगा भन्किएको बेवारिसे बेहोस बिरामी उद्धार - Crazysaptahik.com

डा.सुनिल शर्माको समाजसेवा घाउमा किरा परेर झिंगा भन्किएको बेवारिसे बेहोस बिरामी उद्धार


क्रेजी साप्ताहिक
पथरी । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले अत्यन्तै दर्दनाक अवस्थाको बेवारिसे बेहोस बिरामीलाई सिरहाको लहानबाट उद्धार गरेका छन् । लहान नगरपालिका–३ मा बेवारिसे अवस्थामा रहेका बिरामीलाई डा.शर्माले उद्धार गरेर नोबल अस्पताल ल्याई आईसियूमा राखेर निःशुल्क उपचार गराईरहेका छन् ।लहान अस्पताल नजिक भेटिएका करिव ४० बर्षीय वेवारिसे पुरुषको अवस्था अत्यन्तै दर्दनाक थियो । उनको दाहिने खुट्टाको हड्डी पूर्ण रुपमा भाँचिएर घुँडा भन्दा मुनीको भाग छालाको भरमा मात्र झुण्डिएको छ । भाँचिएको खुट्टाको उपचार नपाउँदा घाउमा किरा परेर दुर्गन्ध फैलनुका साथै झिंगाले घेरेको थियो । धेरै दिनदेखि भुँईमा लडिरहेका उनको अवस्था अत्यन्तै दर्दनाक थियो । उठ्न र बोल्नसमेत नसक्ने अवस्थामा रहेका उनलाई उद्धार गरेर नोबेल ल्याईएको हो ।

लहान अस्पतालमा कार्यरत डा.बृजेन्द्र कुमार शाहले बेवारिसे बिरामीको अवस्था डा.सुनिल शर्मालाई जानकारी गराएर उनको उद्धारमा सहयोग गरेका थिए । गंभीर अवस्थामा रहका उनलाई लहान अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि नोबेल ल्याईएको हो । ‘सुनिल सरले यस्ता धेरै बिरामीलाई सहयोग गर्दै आएको थाहा पाएकाले उहाँलाई जानकारी गराए ।’ डा.शाहले भने ‘उहाँले तत्काल चासो देखाएर वेवारिसे बिरामीलाई उपचारको वातावरण मिलाईदिनुभयो ।’ यता, डा.सुनिल शर्माले आपत र अलपत्र अवस्थामा परेका व्यक्तिलाई सहयोग गर्नु मानवीय कर्तव्य भएकाले सहयोग गरेको प्रतिक्रिया दिएका छन् । उद्धार गरेर ल्याईएका बिरामीलाई नोबेल अस्पतालको भेन्टिलेटरमा राखिएको छ । चिकित्सकहरुका अनुसार उनको अवस्था गंभीर छ । समाजसेवामा सक्रिय डा.शर्माले यसअघि पनि यस्ता धेरै बिरामीलाई उद्धार गरिसकेका छन् ।

सम्बन्धित खवर