एमाले पथरीशनिश्चरेले वडा र पालिका कमिटी गठन गर्ने - Crazysaptahik.com

एमाले पथरीशनिश्चरेले वडा र पालिका कमिटी गठन गर्ने

क्रेजी संवाददाता
पथरी । नेकपा एमालेले यतिबेला आफ्नो आन्तरिक पार्टी संगठनात्मक जीवनलाई राजनीतिक वैचारिक हिसावले शुद्धिकरण र संगठनात्मक हिसावले सुदृढीकरणमा लागेको छ ।

एमालेले देशभरका सम्पूर्ण वडा र पालिका कमिटीहरू गठनका लागि आम कार्यकर्ता भेला माझ राखिएको मिति अन्तर्गत नै कमिटीहरू गठन र अनुमोदन हुने भएका छन् । मोरङको पथरी शनिश्चरे नगरमा पनि तदनुरुपको तयारी अघि बढेको बुझिएको छ । बुधबार नगरमा भएको बैठकले सोही अनुसारको निर्णय लिएको बैठकमा सहभागी भगतचन्द्र थपलियाले जानकारी दिनुभयो ।

६ गते हुने वडा भेला एवं कमिटी निर्माणका लागि प्रत्येक वडा–वडामा बैठकले जिल्ला सदस्यहरूको नेतृत्वमा ७ सदस्यीय सहजीकरण समिति बनाइएको छ । नगरका १० वटा वडामा क्रमशः अर्जुन क्षेत्री, पार्थबहादुर बुढाथोकी, पर्शुराम मिश्र, रमेश दाहाल, उमनाथ अधिकारी, देवीमाया काफ्ले, कपिलमणि ढकाल, यमुना विष्ट, जीवन खतिवडा र भगतचन्द्र थपलियाले सहजीकरण समितिको नेतृत्व गर्नुहुनेछ ।

पार्टीले वडा भेलामार्फत हुने अधिवेशनमा सबै पार्टी सदस्यहरुको उपस्थितिलाई अनिवार्य गरेको छ भने नगर अधिवेशनको लागि पार्टीले निश्चित मापदण्डको व्यवस्था निर्धारण गरेको छ । जसअनुसार १० जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि र प्रत्येक कलस्टर महिला, आदिवासी, जनजाति, अल्पसंख्यक र दलित पार्टी सदस्य मध्येबाट ३ जनामा १ जना प्रतिनिधि नगर अधिवेशनको लागि वडाले छनौट गर्नुपर्ने छ । हाल तदर्थ कमिटीको रुपमा रहेको पालिका कमिटी सदस्यहरु स्वतः प्रतिनिधि हुने व्यवस्था रहेको बैठकमा सहभागी नेता उद्धवबहादुर बस्नेतले बताउनुभयो । नेता बस्नेतका अनुसार विधानतः जम्मा प्रतिनिधि सदस्य संख्याको ५ प्रतिशत प्रतिनिधि आयोजक कमिटीले मनोनित गर्न सक्ने व्यवस्था समेत सुरक्षित राखिएको छ ।

पार्टीको वडा कमिटी संख्या ३१ र पालिका कमिटी ७५ सदस्य हुने व्यवस्था रहेको पार्टी प्रदेश कमिटी सदस्य विजय डाँगीले बताउनुभएको छ । आउँदो ६ र ९ गतेको कार्यक्रमले दुबै कमिटीमा १ तिहाई महिलाको सहभागिता अनिवार्य गराउनुपर्ने छ भने वडा र पालिका स्तरको कमिटीमा पदाधिकारी संख्या बराबर हुनेछ । यसको आन्तरिक व्यवस्थापन १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिव हुनेछ ।

बैठकलाई सम्बोधन गर्नुहुँदै प्रदेश कमिटी सदस्यहरू रामकुमार बस्नेत, युवराज बास्कोटा, देवराज भण्डारी र दिलिपकुमार राईंले पार्टी केन्द्रको निर्णय अनुसार उल्लेखित दुबै तहका अधिवेशन तोकिएको समयमा भव्य र सभ्य रुपमा सम्पन्न गर्न आफूहरू सहित जिल्ला कमिटीका जिम्मेवारहरुलाई खटाइएकोले जनताको बहुदलीय जनवादको आलोकमा राजनीतिक–बैचारिक हिसावले सुदृढ र सशक्त राजनीतिक संगठन बन्नुपर्नेमा जोड दिँदै कमिटी प्रणाली निर्माणका लागि शुभेच्छा व्यक्त गर्नुभयो ।

रमेश दाहालको अध्यक्षतामा सम्पन्न बैठकले नेताद्वय मोहनकुमार न्यौपाने र मोहनकुमार तुम्बापोको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दशैलगत्तै आइरहेको अविरल वर्षाका कारण पुग्न गएको क्षतिका कारण किसान र स्थानीय जनजीवनलाई ठूलो असर परेको निष्कर्ष निकाल्दै यसको अविलम्ब क्षतिपूर्तिको व्यवस्था मिलाउन सरकारसमक्ष माग गरेको नेता उमनाथ अधिकारीले बताउनुभयो ।

सम्बन्धित खवर