हरियाली कम्पनीको तेस्रो साधारणसभा धुमधाम सम्पन्न - Crazysaptahik.com

हरियाली कम्पनीको तेस्रो साधारणसभा धुमधाम सम्पन्न

क्रेजी संवाददाता
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा अवस्थित हरियाली सामुदायिक वन लिमिटेडको तेस्रो साधारणसभा धुमधामका साथ सम्पन्न भएको छ । आज हरियाली वनको सभाहलमा भएको साधारणसभाको खुल्ला सभामा हरियाली सामुदायिक वन लिमिटेडका अध्यक्ष दिलबहादुर तामाङले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
हरियाली सामुदायिक वनका उपभोक्ताहरूलाई मुख्य आधार बनाएर सञ्चालित कम्पनीले गत जेठ महिनादेखि पौडी पोखरी (स्वीमिङ पुल) सञ्चालन पनि सञ्चालनमा ल्याएको छ ।
प्रतिवेदनमा पौडीबाट चार महिनामा मासिक सरदर १ लाख २५ हजार भन्दा बढीको दरले रकम संकलन भएको उल्लेख छ । जेठ २५ गते नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गरेको पौडी पोखरीबाट ५ लाख ६ हजार १ सय ५० रकम संकलन भएको बताइएको छ ।
यसैगरी हलभाडा वापत वार्षिक ३ लाख १९ हजार, व्याज आम्दानी ५८ हजार ३ सय ४२ लगायत गरेर बर्षभरीमा ९ लाख ८ हजार ९ सय ९२ रुपैयाँ आम्दानी गरेको देखिन्छ । खर्चतर्फ कर्मचारी तलव २ लाख २७ हजार ८००, कम्पनी अद्यावधिक खर्च २ लाख ९७ हजार ७ सय ६०, पोखरीमा केमिकल खरिदमा १ लाख १८ हजार १ सय ५५, विद्युत महसुल खर्च २ लाख ३३ हजार ९ सय ५०, प्राविधिक खर्च १ लाख ६९ हजार ३२५ लगायत गरेर २२ लाख ४५ हजार ९ सय ७७ भएको प्रतिवेदनमा उल्लेख छ ।
आय व्यय हिसाव गर्दा गत एक आर्थिक वर्षमा १३ लाख ३६ हजार ९ सय८५ रुपैया घाटा भएको प्रतिवेदनमा उल्लेख छ । कम्पनीमा ८ सय ९६ जना शेयर सदस्यहरुबाट ४८ लाख ९९ हजार ७ सय रुपैयाँ संकलन भएको उल्लेख छ ।
संकलित र अन्य रकमबाट निर्माण भएर पौडी पोखरी सञ्चालनमा आएको छ भने किचन, कार्यालय लगायत निर्माण भएको छ । हरियाली सामुदायिक वनले शेयर स्वरुप एसी जडित भवन .(हल) कम्पनीले हिसाव राख्नेगरी सञ्चालन गर्न दिएको वा हस्तान्तरण गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पूर्व खेलकुद तथा युवा मन्त्री डिगबहादुर लिम्बूले कम्पनीले आगामी दिनमा नाफा गर्नेमा आफू ढुक्क रहेको बताए । आगामी बर्षदेखि घाटा देख्न नपाइयोस भनेर सञ्चालकहरुलाई सुझाव दिए । कार्यक्रममा उद्योगी भोलेश्वर दुलालले कुनै पनि योजना बनाउदा सय बर्षको अनुमानित तयारी गर्नुपर्ने बताए ।
प्रवन्धक रोहित बास्तोलाले सञ्चालन गरेको कार्यक्रममा हरियाली साबउसका अध्यक्ष काबुलबहादुर मगर शुभकामना मन्तव्य राख्दै कम्पनीले आगामी वर्षदेखि नाफामा जाने सुझाए । कम्पनीको पूर्व सञ्चालक सदस्य गणेश बाछना लगायतले शुभकामना दिएका थिए । खुल्ला सभामा पथरीशनिश्चरे नगरका विभिन्न वडा अध्यक्षहरु, इलाका प्रहरी कार्यालयका प्रतिनिधि लगायतबाट सहभागी रहेका थिए ।

सम्बन्धित खवर