क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ पथरी खोला मुसहरघट्टामा पक्की पुल निर्माण भएपछि स्थानीयहरु हर्षित भएका छन् ।
खासगरी वर्षायाम असार, साउन भदौ र असोज सहितका ४ महिना पथरी खोलामा आउने बाढीले चिसापानी गाउँदेखि अर्को गेलाबारी गाउँमा पुग्न ४ –५ किलो मिटरको अर्कै बाटो घुम्नु पर्ने बाध्यता थियो । ४१ मिटर लामो पीएस सीटी बिम ब्रिज निर्माण भएसँगै स्थानीय बासिन्दाहरूलाई यातायातमा सहज भएको वडा नम्बर ६ मेघराज अधिकारीले सुझाउनुभयो । उनले यो खोलामा पुल बनेसँगै सो क्षेत्रका स्थानीय बासिन्दाहरूलाई आफूले उत्पादन गरेको कृषि उपजहरू उत्तरमा पर्ने पथरी बजार वा दक्षिणको सुनवर्षी नगरपालिका (अमरदह बजार )सम्म पुर्याउन सजिलो रहेको उल्लेख गरे । यहाँ निर्माण भएसँगै स्थानीय बासिन्दाहरूलाई यातायातमा भने निकै सहज भएको स्थानीयको भनाइ छ ।
संघीय सरकारको पहिलो किस्ता वापतको १ करोड ३३ लाख र पथरी शनिश्चरे नगरपालिकाको ३ करोड ४५ लाख रुपैयाँ गरी जम्मा ४ करोड ७८ लाख रुपैयाँ बराबरको लगानीमा सो पुलको निर्माण सम्पन्न भएको हो ।
सो पुल निर्माण भएसँगै पथरी शनिश्चरे नगरपालिकाका वडा नं १, २, ३ ,४, ५, ६, ७, ८ तथा सुनवर्षी नगरपालिकाका आधा वडाहरूमा बसोबास गर्नुहुने स्थानीयवासीहरू प्रत्यक्ष लाभान्वित भएका छन् । पथरी बजारदेखि यही बाटो भएर कोशी प्रदेश र मोरङ जिल्लाको सदरमुकाम विराटनगर पुग्नलाई ४० –४१ किलोमिटरको दुरी छिटो समयमा पार गर्न सकिनेछ । केही बाँकी कामहरू नगरपालिकाले यसै आर्थिक वर्ष २०८१ ÷०८२ मा निर्माण कार्य गरिसक्ने नगर प्रमुख मोहनप्रसाद तुम्बापोले जानकारी दिनुभयो । यस्तै नगर प्रमुख तुम्बापोले सो पुलको निर्माणका लागि छुट्याइएको समय अवधि अगावै निर्माण भई आवत जावत सुचारु भएको बताउनुभयो ।