काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले आइतवारदेखि रिक्त सातै प्रदेश प्रमुखको नाम टुंगो लगाएको छ ।
बालुवाटारमा बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रमुखमा नियुक्तिका लागि नाम टुंगो गरेर सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । नेकपाका महासचिव विष्णु पौडेलका अनुसार प्रदेश प्रमुखमा सिफारिस भएकाहरुमा चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलकबहादुर परियार, सिरहाका धर्मनाथ यादव, डढेल्धुराका गोविन्द कलौनी, झापाका विष्णु प्रसाई र काठमाडौंकी शर्मिला त्रिपाठी रहेका छन् ।
‘कुन प्रदेशमा कसलाई पठाउने भन्ने कुराको टुंगो सरकारले लगाउनेछ’, पौडेलले भने, ’नेकपाले मनोनयनका लागि नाम सिफारिसको निर्णय मात्रै गरेको हो।’ तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ३ माघ २०७४ मा नियुक्त गरेका सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पदमुक्त गर्ने सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेको थियो ।
यो पनि सरकारले हटायो सातै प्रदेश प्रमुख राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ को उपधारा १ (ख) बमोजिम सातै प्रदेश प्रमुखहरुलाई आइतवारै पदमुक्त गरिसकेकी थिइन्। सातवटै प्रदेश प्रमुखलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।
जसप्रति वर्तमान नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकार सुरुदेखि नै रुष्ट थियो। कांग्रेसले निर्वाचनमा पराजय बेहोरेपछि नियुक्त गरेका प्रदेश प्रमुखलाई हटाउने नेकपाले त्यतिबेला अभिव्यक्ति दिएको थियो । देउवा नेतृत्वको सरकारले ०७४ माघ ३ गते प्रदेश १ मा डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, गण्डकी प्रदेशमा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशमा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।
–थाहा खबर