चासोक तङनामको अवसरमा विविध कार्यक्रम हुने - Crazysaptahik.com

चासोक तङनामको अवसरमा विविध कार्यक्रम हुने


क्रेजी साप्ताहिक
पथरी । लिम्बु जातिको महान पर्व चासोक तङनाम फुङ्सोक उत्सव उधौली पुजाको अवसरमा मोरङको पथरीशनिश्चरेमा विविध कार्यक्रम हुने भएको छ ।

किरात याक्थुङ चुम्लुङ नगरशाखा पथरीशनिश्चरे तथा सिरिजंगा स्मृति धार्मिक वन पथरीशनिश्चरेको आयोजनामा विभिन्न खेलकुद प्रतियोगिता तथा सांगितिक कार्यक्रम हुने भएको हो । मंसिर २३ गते पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले कार्यक्रमको उद्घाटन गर्ने र २६ गते प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो लिम्बुले कार्यक्रमको समापन गर्नेछन् ।

कार्यक्रमको पहिलो दिन २३ गते सिरिजंगा स्मृति पुरुष भलिबल खेल तथा महिला भलिबल प्रतियोगिता रहने छ, जसमा पुरुषतर्फको भलिबलमा प्रथम हुने टिमले ५५ हजार र दोश्रो हुने टिमले ३५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दुवै पुरस्कारलाई पथरीशनिश्चरे नगरपालिकाले प्रायोजन गरेको छ । त्यस्तै महिला भलिबलतर्फ विजेताले ३५ हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछन् जसलाई विजेताको पुरस्कार प्रायोजन पर्शुराम कार्कीले गरेका छन भने उपविजेतातर्फको पुरस्कार कोपीला सिरेङ चोङवाङले प्रायोजन गरेकी छिन् ।

त्यस्तै २५ गते सो लिम्बु समुदायको ऐतिहासि खेल पक्लुङ लेप्मा (छेलो), हप्रिङ लक्मा (लङ जम्प),लि–तोङ आप्मा (धनु हान्ने) लगायतका कार्यक्रम तथा २६ गते उद्यौलि पुजाको साथै अक्षेता र फुलपाति वितरण गरिने कार्यक्रम रहेको आयोजनाले जानकारी दिएको छ । कार्यक्रममा स्थानिय कलाकारका साथै राष्ट्रिय कलाकार तारा प्रकाश लिम्बूको प्रस्तुतिसमेत रहनेछ । इ सम्पूर्ण कार्यक्रमहरु सिरिजंगा स्मृति धार्मिक वन क्षेत्रमा हुने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर