मोरङ ३ मा स्वतन्त्र उम्मेद्वार जयराजको ओभरस्पिड चुनावी अभियान - Crazysaptahik.com

मोरङ ३ मा स्वतन्त्र उम्मेद्वार जयराजको ओभरस्पिड चुनावी अभियान

क्रेजी संवाददाता
मोरङ । जयराज सङयोक लिम्बु नामै काफी छ । नाम सुन्दा कता कता साहित्यिक व्यक्ति पो हुन् कि भन्ने भान जो कोहीलाई लाग्न सक्छ । तर, होइन उनी एक विद्वान, कुशल, बौद्धिक वृत्तका युवा राजनीतिज्ञ हुन् ।

‘हाम्रो अभियान हाम्रो सङ्कल्प, आत्मा स्वाभिमान सहितको राष्ट्रियता’ भन्ने मूल स्लोगान लिएर मोरङ क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यको स्वतन्त्र उम्मेद्वार सङ्योक उदाएका छन् । उनको चुनावी अभियान यति स्पिडमा छ कि हेर्दै ओभरस्पिड देख्न सकिन्छ । माछा चुनाव चिन्ह लिएर अटो, सफारीको ताँती अनि मोटरसाइकल र गाडीको तातीले ओभरस्पिडकै संज्ञा दिन्छ ।

पथरी र बेलबारीमा पत्रकार सम्मेलन पश्चात् चुनावी घरदैलो अभियानमा लागेको ‘स्वतन्त्र उम्मेद्वार जयराज संयोक लिम्बु जिताउ अभियान’ गाउँको कुना काप्चा, वडादेखि सहरको विल्डिङ घरसम्म छाएको छ ‘माछा’ चुनाव चिन्ह ।

मोरङमो कानेपोखरी–४ निवासी वौद्धिक व्यक्तित्वको रूपमा परिचित लिम्बुले आसन्न संघीय व्यवस्थापिका अन्तर्गत प्रतिनिधि सभा सदस्यमा आफू स्वतः निर्वाचित हुनेमा ढुक्का रहेको बताए ।

राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा समेत स्नातक गरेका स्पष्ट वक्ता मानिने लिम्बुले आफ्नो घोषणापत्र सार्वजानिक गरी अभियानमा जुटिसकेका छन् । उनको घोषणापत्रमा अन्य दलको जस्तो असम्भव कुराहरु दर्शाएका छैनन् । सम्भव हुने र उनले गर्न सक्ने कार्यहरु मात्र राखेका छन् ।

लिम्बुले सञ्चारकर्मीसँगको भेटमा भने –‘आज पार्टीका नेताहरूको व्यक्तिगत स्वार्थले दलको नीति, सिद्धान्त, आदर्श र पद्धतिलाई ध्वस्त गरेको अवस्थामा जनतालाई सर्वोपरि ठानेर मैले निष्ठाका साथ उम्मेदवारी दिएको हुँ ।’ नेपाली कांँग्रेसको राजनीतिक पृष्ठभूमि भएका जयराजले उक्त पार्टीको कार्यप्रणालीप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

उनले थपे– ‘मोरङ क्षेत्र नं. ३ को काँग्रेसले आफ्नै अग्रजको अपमान गर्दछ, त्याग र बलिदानलाई मूर्ख ठान्छ, अनवरत क्रियाशीलतालाई बेबकुफी ठान्छ, सादगी र सहनशीलतालाई कमजोरी ठान्छ । गरिबीको उपहास गर्दै गुलामीको स्रोत ठान्छ, आत्मस्वाभिमानलाई तुच्छ मूल्यमा तौलिन्छ र निष्ठालाई खरिद गर्ने कुचेष्टा गर्दछ ।’

विजयी भएपश्चात् नै उनले कृषकका लागि मलखादको व्यवस्थापन, मिनी हाइड्रोपावरको प्रवद्धन, यातायातका साधनमा लाग्ने अत्यधिक करको कटौती र स्थानीय मदिराको ब्रान्डिङ गर्ने जस्ता कार्यलाई प्राथमिकता दिएर अघि बढ्ने बताए । जयराजले दीर्घकालीन योजना मार्फत् यस क्षेत्रमै एयरपोर्ट स्थापना र सगरमाथा फेदीसम्म पर्यटकीय स्टेसन सहितको केबुलकार सञ्चालन गर्न सम्भव रहेको आधार सहित आफनो दाबी प्रस्तुत गरेका छन् ।

लिम्बुको घरदैलो अभियान पथरीशनिश्चरेका केही वडा सकेर आज कानेपोखरी प्रवेश गर्ने प्रचार प्रसार संयोजक काबुलबहादुर मगर (विकास)ले जानकारी दिनुभयो ।

सम्बन्धित खवर