क्रेजी साप्ताहिक काठमाडौँ । तीनै तहका सरकारले पार्टीको घोषणापत्र अनुरुप जनताको अपेक्षा पूरा गर्नका लागि अझ मेहनतसाथ काम गर्नुपर्ने नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् ।
आज पुष्पलाल स्मृति प्रतिष्ठानको २५ औं साधारणसभालाई सम्बोधन गर्दै नेपालले सरकार सञ्चालनसम्बन्धी विगतका अनुभवहरुलाई ध्यानमा राख्दै परिवर्तनको अनुभूति गराउने गरी काम गर्न सकेमात्र नेकपा जनताबीच लोकप्रिय भइराख्ने बताए । पुष्पलालले पाँच जनाबाट सुरु गरेको कम्युनिस्ट पार्टी आज लोकप्रिय र विश्वासिलो शक्तिका रुपमा विकास भएको भन्दै जनताको बढ्दो अपेक्षा र भरोषालाई पूरा गर्नका लागि सबै तहका सरकारहरुले पार्टीको घोषणापत्र अनुसार काम गर्नुपर्ने उनले बताए ।
कीर्तिपुर नगरपालिका– ४, चम्पादेवी स्मृति प्रतिष्ठानको केन्द्रीय कार्यालयमा आयोजित साधारणभामा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुका साथै प्रदेश तथा जिल्ला शाखाका प्रतिनिधिहरुको सहभागिता थियो । साधारणसभामा प्रतिष्ठानका महासचिव गंगालाल तुलाधारले हालसम्म भएका कामहरुको विवरण पेस गर्नुका साथै आगामी बर्षका लागि कार्यक्रमहरु प्रस्ताव गरेका थिए ।
प्रतिष्ठानले आगामी बर्ष संस्थापक महासचिव पुष्पलालको आधिकारिक जीवन प्रकाशन गर्ने, पार्टी स्थापनादेखि सबै महाधिवेशनहरुलाई समेत समेटेर ऐतिहासिक तस्वीर संग्रह प्रकाशन गर्ने, निर्माणाधीन पुस्तकालय भवनलाई पूर्णता दिने, रामेछापको भँगेरीमा पुष्पलालको पूर्ण कदको शालिक स्थापना गर्ने, कम्युनिस्ट आन्दोलनका दस्तावेजहरुको छैटौँ संग्रह प्रकाशन गर्ने, मुखपत्रका रुपमा नयाँ जनवाद प्रकाशन गर्ने जस्ता कार्यक्रम तय गरेको छ ।
प्रतिष्ठानका उपाध्यक्ष लोककृष्ण भट्टराईले स्वागत गरेको साधारणसभामा कोषाध्यक्ष मोहनबहादुर केसीले आर्थिक विवरण पेश गरेका थिए । साधारणसभामा प्रतिष्ठानको एक नम्बर प्रदेशका उपाध्यक्ष भवानी खापुङ, दुई नम्बर प्रदेशका अध्यक्ष रामकुमार भट्टराई, गण्डकी प्रदेशका अध्यक्ष तुलबहादुर गुरुङ, कर्णाली प्रदेशका अध्यक्ष चन्द्रबहादुर शाहीका साथै जिल्लाका प्रतिनिधिहरुले धारणा राखेका छन् ।
प्रतिष्ठानका सचिव विष्णु रिजालका अनुसार, तीन बर्षमा नेतृत्व चयन हुने प्रतिष्ठानमा साधारणसभा चाहिँ हरेक बर्ष हुने गर्दछ । ०५१ सालमा स्थापित प्रतिष्ठानमा अहिले २३ सदस्यीय कार्य समिति छ ।