अदालत रिहाइ गर्दा पनि रिहाइ हुन मानेनन् विप्लवका दाजुसहित २१ नेता - Crazysaptahik.com

अदालत रिहाइ गर्दा पनि रिहाइ हुन मानेनन् विप्लवका दाजुसहित २१ नेता


क्रेजी साप्ताहिक घोराही । जिल्ला अदालत दाङले धरौटीमा रिहा हुने आदेश दिएपनि विप्लव नेतृत्वका २१ नेता कार्यकर्ताले रिहा हुन इन्कार गरेका छन् । अदालतको रिहा हुने आदेशपछि पनि कारागार नै रोज्नेमा प्रतिबन्धित विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दका सहोदर दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ चन्दसमेत रहेका छन् । दाङबाट गत कात्तिक २९ मा पक्राउ परेका प्रतिबन्धित विप्लव नेतृत्वका २१ नेता–कार्यकर्तालाई जनही १५ हजार रुपैयाँका दरले धरौटीमा छाड्न दाङ–देउखुरी जिल्ला अदालतका न्यायाधीश रीतेन्द्र थापाको इजलासले सोमबार आदेश दिएका थिए । अदालतको यस्तो आदेशपछि रिहा हुनुपर्नेमा सबै २१ जनै विप्लवका नेता कार्यकर्ताले कारागारमै बस्ने निर्णय गरेका हुन् ।

अदालतको आदेशपछि पनि पुनः पक्राउ गर्ने उद्देश्यले अदालत परिसर बाहिर प्रहरी तैनाथ भएपछि रिहा नभएर कारागार नै रोजेको विप्लवका दाजु वीरजंगले बताए । ‘१५ हजार धरौटी बुझाएर पनि पुनः प्रहरीले पक्राउ गर्ने देखिएपछि रिहा नभएर कारागार जाने निर्णय गरेका हौं’, अदालत परिसरमा वीरजंगले सञ्चारकर्मीसँग भने । सरकारले विप्लव समूहमा संलग्नको आरोपमा यसका नेता कार्यकर्तालाई पक्राउ गर्दै मुद्दा चलाएको छ । सरकारको मुद्दा सामना गर्दै अदालतबाट रिहा हुने आदेश पाएकाहरूलाई पनि प्रहरीले पुनः अदालत बाहिरबाटै पक्राउ गर्ने गरेको छ । देशव्यापी रूपमा देखिएको यो प्रवृत्ति दाङमा पनि दोहोरिने भएपछि विप्लवका दाजुसहितका नेता कार्यकर्ता दाङ–देउखुरी अदालतको आदेशपछि पनि रिहा नभएका हुन् ।

गत कात्तिक २९ गते विप्लव समूहको राप्ती व्युरो बैठक बसिरहेका बेला प्रहरीले नेपाल भारत सीमामा पर्ने दाङको राजपुर गाउँपालिका ४, मगराइना गाउँबाट यसका मध्य पश्चिम व्युरो इञ्चार्ज वीरजंगसहितका २१ नेता कार्यकर्तालाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध संगठित अपराध गरेको आरोपमा मुद्दा चलाइएको थियो ।

सम्बन्धित खवर