आज दमकमा खेलकुद महासंघको प्रदेशस्तरीय भेलामा अध्यक्ष नेपाल आउने - Crazysaptahik.com

आज दमकमा खेलकुद महासंघको प्रदेशस्तरीय भेलामा अध्यक्ष नेपाल आउने

क्रेजी संवाददाता
दमक । झापाको दमकमा आज पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आउने कार्यक्रमको तयारी पूरा भएको छ ।

पार्टी सम्बद्ध नेपाल खेलकुद महासंघ समाजवादीको आयोजनामा हुने खेलको नमुना प्रदर्शन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेता नेपाल आउने कार्यक्रम तय भएको हो ।

आयोजक महासंघ समाजवादीले आइतबार दमकमा अवस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी नेता नेपालले खेलाडी तथा पार्टीका समर्थक, शुभेच्छुक कार्यकर्ताहरुको बृहत् भेलालाई सम्बोधन गर्ने तय भएको जनाएको छ ।

१ नम्बर प्रदेश अन्तर्गतका १४ जिल्लाबाट विभिन्न विधाका खेलाडीहरु सहित महासंघ समाजवादीका कार्यकर्ताहरु समेत एक हजार बढी सहभागी हुने सो कार्यक्रमलाई पार्टीका प्रदेश इञ्चार्ज घनेन्द्र बस्नेत, १ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री समेत रहेका पार्टीका प्रदेश अध्यक्ष राजेन्द्र राई, नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रीय अध्यक्ष केशव बहादुर विष्ट लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीका प्रदेश कमिटी सदस्य समेत रहेका नेता केन्द्र बहादुर प्रसाइँले जानकारी गराए ।

खेलकुद महासंघ प्रदेश समिति अध्यक्ष शंकर थापाले खेलकुद महासंघ र खेल विकासका क्षेत्रमा यो कार्यक्रम महत्वपूर्ण हुने बताए । उनले खेलुकदको आवश्यकता, औचित्य र यसका लागि चाहिने राष्ट्रिय नीतिका बिषयमा समेत कार्यक्रममा गम्भीर बहस र छलफल सहित प्रशिक्षणमुलक कार्यक्रम हुने जानकारी दिए ।

महासंघका प्रदेश इञ्चार्ज हंसारज वाग्लेले खुल्ला सत्रमा पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष नेपालसहितका नेताहरुको सम्बोधनपछि हुने बन्दसत्र प्रशिक्षणमुलक रहने जानकारी दिए ।

दमकस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य निलमणी बराल, जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मी, प्रदेश सदस्य केन्द्र प्रसाई, जिल्ला कमिटी सचिव मणी भण्डारी, दमक नगर अध्यक्ष महेश घिमिरे, अर्जुनधारा अध्यक्ष अर्जुन मेचे, अखिल फोर्सका केन्द्रीय उपाध्यक्ष रोशन भण्डारी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर