सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्ध अपहरणको जाहेरी लिन प्रहरीले मानेन - Crazysaptahik.com

सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्ध अपहरणको जाहेरी लिन प्रहरीले मानेन

काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न अस्वीस्कार गरेको छ ।

जसपाका शीर्ष नेताहरू पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतका नेताहरूसहित पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादव जाहेरी दर्ता गर्न टेकु पुगेका हुन् ।

तर, परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जाहेरी दर्ता गर्न अस्वीकार गरेका छन् । उनी नहुँदा एसपी सोमेन्द्र राठोरले पनि दर्ता गर्न नमिल्ने बताएका थिए । उनले दर्ता गर्ने नै भए घटना भएको भनिएको जिल्ला महोत्तरी जान सुझाएका थिए ।

जोहरी दर्ता नभएपछि प्रहरी परिसरबाट बाहिरिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो मुद्दामा जाहेरी नदिँदा पनि राज्य आफैँले अनुसन्धान गर्नुपर्ने बताए । उनले भने, ‘प्रहरीलाई केही दोषारोपण गर्न चाहँदैनौँ, उहाँहरूको केही बाध्यता होला । तर, ओलीतन्त्रले राज्यको कानुन विधान सबै लत्याएको छ र राज्यको अपराधीकरण गरेको छ । साथै, आफैँ अपहरणमा समेत मुछिएको छ ।’

यो घटना अझै गम्भीर बनेको र देश गम्भीर संकटतर्फ उन्मुख भएको उनले बताए । पूर्व आईजीपी खनाल, श्रेष्ठ र बस्नेतले तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयासमा १० वैशाखमा महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएका थिए । समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरे ।

भोलिपल्ट बिहानै सांसद यादव मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरूको सम्पर्कमा पुगेका थिए । पछि यादवले आफूलाई अपहरणकै शैलीमा काठमाडौं ल्याइएको बयान दिएका छन् । तर, खनाल, श्रेष्ठ र बस्नेतले भने उनकै सहमतिमा काठमाडौं ल्याइएको बताउँदै आएका छन् ।

– अनलाइनखबरबाट

सम्बन्धित खवर