लर्ड वुद्धको १९ औं वार्षिक साधारणसभा - Crazysaptahik.com

लर्ड वुद्धको १९ औं वार्षिक साधारणसभा

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा २०५९ मा स्थापित लर्ड वुद्ध बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

भर्खरै मात्र संस्करण बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण गरेको लर्ड वुद्धले एकीकरण पछिको पहिलो साधारणसभा मार्फत् संचालक समितिलाई केही परिमार्जन समेत गरेको छ । विद्यमान समितिमा केही परिमार्जन गरी नयाँ समिति सर्वसहमति मार्फत् चयन गरिएको हो ।

मोरङको पथरीशनिश्चरेमा रहेको सो संस्थाको अध्यक्षमा धनराज राईलाई नै निरन्तरता दिइएको छ भने उपाध्यक्षमा भोजराज चौहानलाई चयन गरिएको हो । चौहान संस्करणका अध्यक्ष रहेका थिए । संस्थाको सचिवमा महेन्द्र ढुंगाना चयन भएका छन् भने सुमन राई सह–सचिव भएका छन् ।

संस्थाले आज (शनिबार) पथरी शनिश्चरे २ नम्बर वडा अध्यक्ष तथा नगर प्रवक्ता याम प्रसाद गुराँगाईको प्रमुख आतिथ्यमा विभिन्न कार्यक्रम सहित साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाको अवसरमा संस्थाले पूर्व सञ्चालक सम्मान, उत्कृष्ट बचत कारोबार, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट ऋण कारोबार कर्ता र उत्कृष्ट कर्मचारी शिर्षकमा पुरस्कार प्रदान समेत गरेको छ । संस्थाको उत्कृष्ट कर्मचारी रिना घिमिरे बनेकी छन् ।

यस्तै उत्कृष्ट बचत कारोबारबाट शेयर सदस्यहरु जय कुमार केसी र संगीता तामाङ पुरस्कृत भए भने उत्कृष्ट ऋण कारोबारकर्ता पुरस्कार राजेस बराइली र कैलाश राईलाई प्रदान गरीएको छ । त्यसैगरी उत्कृष्ट बाल बचतकर्ता पुरस्कार सौरभ भण्डारीले प्राप्त गरे ।
संस्थाले साधारण सभा मार्फत आफ्नो कुल पुजी १८ करोड ५९ लाख ७८ हजार ५ सय ७० पुगेको जानकारी गराएको छ भने यस बर्षको शुद्ध मुनाफा ६३ लाख १ हजार ८५ रुपैयाँ रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

संस्करण बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण गरेको लर्ड बुद्ध सहकारीको हाल शेयर सदस्य २४ सय बढी रहेका छन ।
साधारण सभा कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुराँगाईले सहकारीहरुले शेयर सदस्यहरुको हितमा कारोबार गर्नुपर्ने बताउदै राज्यले सहकारीलाई व्यवस्थित बनाउन सहयोग गर्नु पर्ने बताए । नगरले समेत उचित अनुगमन र व्यवस्थापनमा सहयोग गर्नुपर्ने उनको तर्क थियो ।

सम्बन्धित खवर