क्रेजी संवाददाता
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ७ मा अवस्थित मिलन चौकमा पुस ६ गते मिलन याक्थुङ चुम्भो चासोक तङ्नाम २०७८ मनाइने भएको छ ।
आयोजक मिलन साँस्कृतिक परिवारले आज मंगलबारेको ‘डी’ क्याफेमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त कुराको जानकारी दिएको हो । दुई वर्षअघि देखि निरन्तर आयोजना गरिँदै आएको चासोकमा यस पटक गायक एकदेव लिम्बु र गायिका सुनिता संयक (लिम्बु)को विशेष सांगीतिक प्रस्तुति रहनेछ ।
यस्तै कार्यक्रममा चासोक सेवा पूजा तथा प्रसाद वितरण कार्यक्रम (विहान ८ बजे), चासोक तङनाम प्रमुख कार्यक्रमको उद्घाटन, छेलो (पलङ) धनु (लि), डोरी तान्ने (इधाक), स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बजोड प्रस्तुति र सम्मान तथा पुरस्कार वितरण हुने आयोजकका कार्यक्रम संयोजक सन्तोष थेगिमले जानकारी गराए ।
यस कार्यक्रम सञ्चालनको लागि कलाकार, स्टेज सजिसजावट, साउण्ड सिस्टम, अतिथि सत्कार, म्यानेजमेन्ट, प्रसाद, प्रचार प्रसार र सम्मानमा कूल खर्च ५ लाख लाग्ने बताइएको छ । सो खर्च स्थानीय संघ संस्था र स्थानीय शिवसताक्षी ७ नं. कै विदेशमा रहनुभएका मनु सम्वाहाम्फे (मलेशिया) र माइतराज बोखिम (हङकङ)ले विशेष सहयोग गरिरहेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
घनेन्द्र इजमले सञ्चालन गरेको पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष राजबहादुर लिम्बुले क्लबले चासोकको बारेमा स्पष्ट पार्दै यस पटकको चासोकमा सभ्य र भव्य रुपमा मनाइने जनाउनुभयो । यस्तै कोषाध्यक्ष भवानी विक्रम चम्जोङले आर्थिकका संकलनका बारेमा स्पष्ट पारेका थिए ।