बंगुर फार्मबाट कुमारले गरे मनग्गै आम्दानी - Crazysaptahik.com

बंगुर फार्मबाट कुमारले गरे मनग्गै आम्दानी

ईस्वर दुलाल
पथरीशनिश्चरे । बिहानीको झुल्के घाम संगै बंगुर फार्मबाट सुरु हुन्छ मोरङ पथरीशनिश्चरे–२ मा स्थापित जमुना कृषि फर्मका सञ्चालक कुमार श्रेष्ठको दैनिकी ।

विहानै आफ्नै घर पछाडिको एक बिगाह क्षेत्रफलमा फैलीएको फार्ममा पुगेर बंगुरलाई दानापानी खुवाउन र खोर सफा गर्न आफू सहित आफ्ना २ सहयोगी लिएर जानुहुन्छ । यसरी नै दिनचर्यामा नै उहाँको लगभग ६–७ वर्ष बितिसकेको छ ।

‘विदेश गएर दुःख पनि पाइयो, एजेन्टले भने बमोजिमको तलब पनि पाइएन, पछि स्वदेश फर्किएर आफ्नै गाउँघरमा व्यवसाय सुरु गरे त्यो पछिको खुशी नै अहिले बेग्लै छ । परिवार मिलेर बंगुरपालन गरेका छौं, सबै जना खुशी छौं,’ श्रेष्ठले भन्नुभयो । श्रेष्ठको परिवारमा श्रीमती जमुना र २ छोराहरु सन्देश र सौगात छन् ।

एक दिन अकस्मात् कुलुङ बंगुर फम भिजिट गर्ने अवसर प्राप्त भयो । सोही फमबाट प्रेरित भएर व्यवसाय संचालन गरेको र सो फर्मबाट २ वटा बंगुरबाट सुरु गरेको जानकारी गराए । सोही २ वटा बंगुरका पाठाहरुबाट अहिले ५० वटा माउ बनाएको श्रेष्ठले जानकारी गराए ।

विदेशमा खाईनखाई दुःख गरियो श्रेष्ठले भन्नुभयो ‘विदेशमा गर्ने श्रम स्वदेशमै गर्ने हो भने मनग्गै आम्दानी लिन सकिने रहेछ ।’ श्रेष्ठले र्फम सञ्चालन गरेको ६–७ वर्ष भएता पनि फर्मलाई व्यवसायिक रुपले सञ्चालन गरेको भने ३ वर्ष भएको छ । बंगुरपालन व्यवसायबाट वार्षिक एक करोडको हाराहारीमा आम्दानी गर्न सकिने उहाँले अनुभव सुनाउनुभयो ।

परम्परागत खोरमा दुई वटा बंगुरबाट सुरु गरेको र त्यसपछि आधुनिकीकरण गर्दै सामान्य ५०–६० हजारको लगानी गर्दै क्रमशः आधुनिकीकरण गरिएको खोरमा करिब २० लाख बराबरको खोर संरचना निर्माण गरी व्यवसाय संञ्चालन गरिरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको फर्ममा माउ बंगुर ५०, भाले बंगुर ४ वटा रहेका छन् । एउटा पाठी एक सालमा २ पटक अनिवार्य ब्याउँछ । सोही अवधिमा कम्तीमा १२ वटा पाठाहरू हुर्कन्छ । फमले वार्षिक रुपमा ११ सय भन्दा बढी पाठाहरू विक्री वितरण गर्दै आइरहेको छ ।

मेहनत र दानाको व्यवस्थापन गर्न सके पैसा कमाउन बंगुरपालन व्यवसाय राम्रो हुने उहाँको अनुभव रहेको छ । फर्मबाट उत्पादन गरिएको पाठा स्थानीय ठाउँमा मात्र नभएर ताप्लेजुङ, धनकुटा, इलाम तिरबाट पनि माग आउने गरेको छ । माग अनुसार उत्पादन गर्न सकिराखेको छैन ।

कतिपय कृषकहरुले अग्रिम पाठाको माग गरेर पनि जानुहुन्छ श्रेष्ठले सुनाउनुभयो । हुन त गाई पालन, बाख्रा पालन, भैसी पालन गर्दा पनि हुन्छ, तर बंगुरमा जस्तो छिटो आम्दानी अरु केहीमा देखिन । धेरै अध्ययनपछि मैले बंगुर फर्मलाई नै रोजे ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.