
स्पेनिस ला लिगामा शुक्रबार राति भएको खेलमा सेभियाले इल्चेलाई २–० गोलले हरायो । जितसँगै दोस्रो स्थानमा रहेको सेभियाले रियलसँगको दुरी तीन अंकले घटाएको छ । सेभियाको जितमा अलेसान्द्रो गोमेज र राफा मिरले गोल गरे ।
पाहुना टोलीलाई खेलभर दबाबमा राखेपनि सेभियाले दुवै गोल दोस्रो हाफमा गरेको थियो । ७०औँ मिनेटमा अलेसान्द्रो गोमेजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछि ७५औँ मिनेटमा अतिरिक्त खेलाडी राफा मिरले गोल गर्दै सेभियाको अग्रता दोब्बर बनाए ।
६०औँ मिनेटमा जेसस कोरोनाको स्थानमा मैदान प्रवेश गरेका राफा मिरले एन्थोनी मार्सियालको पासमा गोल गरेका थिए । ५७ प्रतिशत बल पोसेसन राखेको सेभियालाई पहिलो हाफमा रोकेपनि इल्चे दोस्रो हाफमा निरीह बन्यो ।
सेभियाका अलेसान्द्रो गोमेज ‘म्यान अफ दिन म्याच’ भए । जितसँगै सेभियाले २४ खेलबाट ५० अङ्क बनाएको छ । शीर्षस्थानमा रहेको रियलको २३ खेलबाट ५३ अङ्क छ । पराजित इल्चे २६ अङ्कसहित १४औँ स्थानमा छ ।


