क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा जिल्ला बचत तथा ऋण सहकारी संघको २ दिवसीय साकोस गोष्ठी २०७९ शनिबार भएको छ ।
शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा पथरीशनिश्चरे २ मा अवस्थित सिन भिलेज पार्टी प्यालेसमा आयोजित साकोस गोष्ठीको उद्घाटन नेफ्स्कुनका केन्द्रीय अध्यक्ष परितोस पौड्यालले गर्नुभएको हो ।
असार १८ र १९ गते दुई दिन चल्ने उक्त गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतिथि पौड्यालले सहकारीले अब सहकारी मानवता विरुद्घका आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यटनमा नलागी मानवता संग– संगै अगाडि बढ्नु पर्ने बताउनुभयो । संघले सहकारीलाई उन्नत र व्यवस्थित बनाउने अभिप्रायले हिजो र आज २ दिन सहकारी गोष्ठीको आयोजना गरेको जनाएको छ ।
उक्त गोष्ठीमा साकोस सञ्जालिकरण र प्रविधि, सहकारीको नियमन र प्रवर्द्रधनमा नियामक निकायको भुमिका र सवालका क्षेत्रहरु, संघियतामा सहकारीः स्थानिय तहको भुमिका, जोखिम न्यूनिकरण एवम् सक्षम सहकारी विकासको आधार र आर्थिक समृद्धिको यात्रामा नेपालको सहकारी आन्दोलन लगायतका कार्यपत्रहरु माथि छलफल हुनेछ ।
वि.सं. २०५१ सालमा स्थापना भएको संघले बचत तथा ऋण सहकारी संस्थालाई वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै सहजीकरण गोष्ठी संचालन गर्दै आएको छ । जिल्ला संघमा आवद्ध भएका २ सय ७१ वटा बचत तथा ऋण सहकारी संस्था र अन्य उदेश्यका सहकारी संस्था, संघमा आवद्ध नभएका बचत तथा ऋण सहकारी संस्थाले पनि गोष्ठीमा सहभागिता जनाएका छन ।