क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख एवं अनुगमन समितिका संयोजक देवि माया काफ्लेले नगरका विभिन्न योजना तथा कार्यक्रमको अनुगमन गर्नुभएको छ ।
सोमबार वडा नं. ५ को रजत जयन्ती मार्ग कालोपत्रे निर्माण, वडा नं. ६ को बुद्ध मार्ग कालोपत्रे निर्माण, वडा नं. ४ र ९ को पुलचौक भातेगौडा सडक कालोपत्रे, वडा नं. ४ को कुशल बजार टहरा निर्माण, वडा नं. ३ को कृषि बजार टहरा र वडा नं. ५ को पाङ्ग्रे झलास धिमाल तिर्थस्थल संरक्षणको अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा वडा नं. ३ को कृषि बजार टहरा र वडा नं. ४ को कुशल बजार टहरामा केही कार्यहरु अधुरा रहेकोले ती कार्यहरु पूरा गर्न उप–प्रमुख काफ्लेले निर्देशन दिनुभएको छ । आजको अनुगमनमा अनुगमन समितिका सदस्यहरु वीरबहादुर राई, अन्जना दर्जी, शिवकुमार राई, इन्जिनियर हसरत अलि नेपाल र प्राविधिक रंजित राजवंशीको उपस्थिति रहेको थियो ।