कानेपोखरी गाउँपालिकाद्वारा उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान - Crazysaptahik.com

कानेपोखरी गाउँपालिकाद्वारा उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान

क्रेजी समाचारदाता
कानेपोखरी । कानेपोखरी गाउँपालिकाले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र सामुदायिक विद्यालयलाई सम्मान, पुरस्कृत साथै प्राविधिक धारका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।
सोमबार गाउँपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी २०८१ मा उत्तीर्ण भएका विभिन्न कक्षाका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो ।
कानेपोखरी गाउँपालिकाको ‘प्राविधिक विधामा रोजगारी, कानेपोखरीका छोराछोरी’ कार्यक्रम अन्तर्गत पालिका भित्रका प्राविधिक विषयमा अध्ययनरत १८ जनालाई जनही नगद २७ हजार ५ सय रुपैयाँ छात्रवृत्ति स्वरुप प्रदान गरिएको थियो ।
यसैगरी छोरा छोरी सामुदायिक विद्यालयमा अध्ययन गराउने शिक्षक र कर्मचारीहरूलाई पनि नगद सहित ३० जनालाई सम्मान गरिएको थियो । कानेपोखरी गाउँपालिका स्तरीय आधारभूत शिक्षा (कक्षा ५ र ८) उत्तीर्ण परीक्षामा सामुदायिक विद्यालयतर्फ पालिका प्रथम र द्वितीय स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई प्रमाण–पत्र र नगद पुरस्कार वितरण गरिएको गरिएको थियो । पालिका प्रथम हुने कक्षा ८ का सुदर्शन निरौलालाई १० हजार, द्वितीय सरिना धिमाल ७ हजार र कक्षा ५ तर्फ सृष्टी राई प्रथम ५ हजार र द्वितीय ममता भट्टराई ३ हजार प्रदान गरिएको थियो ।
यसैगरी २०८१ को एसईईमा सामुदायिक विद्यालयहरुको तर्फबाट उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिएको थियो । सिंहदेवि माध्यमिक विद्यालयकी छात्रा आराधना कार्की प्रथम २५ हजार र जनसेवा माध्यमिक विद्यालयका आर्यन आचार्य द्वितीय २० हजार प्रदान गरिएको थियो ।
एसईईमा राम्रो नतिजा ल्याउने विद्यालय प्रथम शिक्षासदन माध्यमिक विद्यालय, कानेपोखरी–३ लाई ३० हजार र द्धितीय सिंहदेवि माध्यमिक विद्यालय, कानेपोखरी–५ लाई २० हजार राशी र प्रमाण पत्रले सम्मान गरिएको थियो । गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी र प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले पुरस्कृत तथा सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्गनामज्यूको अध्यक्षतामा उपाध्यक्ष भोलाप्रसाद अधिकारी र प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवको उपस्थितमा कार्यक्रम समापन भएको थियो । कार्यक्रम संचालन शिक्षा साखा प्रमुख चूडामणि रेग्मीले गर्नुभएको थियो ।

सम्बन्धित खवर