पिकनिकको लागि उचित स्थान पथरीको हरियाली पार्क - Crazysaptahik.com

पिकनिकको लागि उचित स्थान पथरीको हरियाली पार्क

क्रेजी संवाददाता
पथरी । अहिले मौसम न त धेरै गर्मी छ न धेरै जाडो– बिहान बेलुका हल्का चिसो, दिउँसो मध्यम गर्मी । यस्तै मनमोहक मौसममा पिकनिकको योजना बनाइरहनु भएको छ ? यदि हो भने, तपाईंको रोजाइमा हरियाली पार्क एकदमै सही विकल्प हुनसक्छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. २ राजमार्ग उत्तरमा अवस्थित हरियाली पार्क हरियाली वन पब्लिक लिमिटेडले व्यवस्थित रूपमा सञ्चालनमा ल्याएको मनोरञ्जन स्थल हो । लगभग ९ हेक्टर क्षेत्रफलमा फैलिएको यो पार्कमा एकै पटक २० देखि २५ वटा पिकनिक समूह पिकनिक खान सक्नेछन् । पिकनिकको मौसम सुरुवात हुन लाग्दालाग्दै पनि केही समूहहरूले पिकनिकको आनन्द लिइसकेका छन्, भन्छन् कम्पनीका म्यानेजर रोहित बास्तोला ।
पार्कमा स्वच्छ खानेपानी, विद्युत् बत्ती, शौचालय, निःशुल्क वाइफाइ र पर्याप्त पार्किङको व्यवस्था गरिएको छ । बालबालिकामैत्री वातावरणका कारण यहाँ पारिवारिक पिकनिकका लागि विशेष आकर्षण रहेको छ ।

सेवा शुल्कका बारेमा हरियाली वनका अध्यक्ष काबुल बहादुर मगर (विकास) भन्नुहुन्छ–‘हामी पाहुनासँग मैत्रीपूर्ण व्यवहार गर्छौं । ३० जना सम्मको समूहका लागि रु. ५०० र ३० भन्दा माथि १ सय जना सम्मका समूहका लागि रु. १,००० सेवा शुल्क तोकिएको छ । आवश्यकता अनुसार हेरफेर पनि गर्न सकिन्छ ।’

यदि पिकनिकका लागि बाहिरबाट केही ल्याउन चाहनुहुन्न भने पनि चिन्ता छैन — पार्कभित्रै सम्पूर्ण खानपानको सस्तो र सहज व्यवस्था गरिएको हरियाली वन पब्लिक लि.का अध्यक्ष दिलबहादुर तामाङ बताउनुहुन्छ । हरियाली पार्क नजिकै क्यान्टिन, पौडी पोखरी र सभाहलको पनि सुविधा रहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.