
क्रेजी संवाददाता
पथरी । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण, हाम्रो संकल्प समृद्ध नेपाल, सुखी नेपाली, राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरेमा ‘इरान राई जिताऔं अभियान’ अन्तर्गत आज वृहत् मोटरसाइकल र्याली सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पथरी शनिश्चरे नगर कमिटीको आयोजनामा मोरङ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार इरन कुमार राई (इरान)लाई विजयी गराउने उद्देश्यका साथ उक्त र्याली आयोजना गरिएको हो । उम्मेद्वार राई स्वयं र्यालीमा सहभागी हुनुहुन्थ्यो ।
मोटरसाइकल र्याली पथरी शनिश्चरे वडा नं. १ को मन्दिर लाइनबाट सुरु भई यलम्बर चौक, शनिश्चरे बजार, वडा नं. ८ को सोमबारे बजार, प्रदेश मार्ग हुँदै किर्तिपुर बजार, विष्णुचौक, बुद्धचौक, किराती चौक, सुन्दरी चौक, आइतबारे, वडा नं. २ को देविगञ्ज हुँदै पथरी बजारस्थित जनआन्दोलन चौकमा पुगेर समापन गरिएको थियो ।
समापन पश्चात् आयोजित कोणसभामा नेताहरुले आगामी निर्वाचनमा पार्टीका उम्मेद्वारलाई विजयी गराउन सबैलाई आह्वान गरेका थिए । नगर कमिटी सचिव विरोज मगरका अनुसार र्यालीमा ठूलो संख्यामा नेता–कार्यकर्ता तथा समर्थकहरुको सहभागिता रहेको थियो ।


