सुरु भयो उपनिर्वाचन : तीन तहका ५२ रिक्त पदका लागि मतदान हुँदै - Crazysaptahik.com

सुरु भयो उपनिर्वाचन : तीन तहका ५२ रिक्त पदका लागि मतदान हुँदै


क्रेजी साप्ताहिक । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि आज बिहान सात बजेदेखि मतदान शुरु भएको छ । सम्पूर्ण आवश्यक तयारी पूरा भएको र भरपर्दो व्यवस्था मिलाइएको हुँदा कुनै शङ्का, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आह्वान गरेका छन् ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायको समन्वय र सहभागितामा उपनिर्वाचन लक्षित भरपर्दाे एकीकृत सुरक्षा योजना बनाइएको छ । प्रतिनिधिसभातर्पm २१, प्रदेशसभा सदस्य तर्पm ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यस उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जनालाई मतदान गर्न पाउने मताधिकार छ ।

आयोगले सबै मतदान अधिकृतहरुलाई अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित प्रबन्ध मिलाउन पनि निर्देश गरेको छ । निर्वाचन कानूनले अनुमति दिएका उम्मेदवार, मतदाता, व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश नगर्न सुझाव दिदै आयोगले मतदाताले स्वतन्त्र र विवेकपूर्ण ढङ्गबाट मतदान गर्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्न र सहज वातावरण तयार गरिदिन अनुरोध गरेको छ ।

कास्की–२ मा प्रतिनिधिसभा सदस्य, भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन हुन लागेको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

यसैबीच भक्तपुरको चाँगुनारायण–२ दुवाकोट मतदान केन्द्रमा भएको मतदानको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अवलोकन गरेका छन् । उपनिर्वाचनको अवलोकनका लागि भक्तपुरका मुख्य निर्वाचन अधिकृत जगत्नारायण प्रधानले यहाँ हुने निर्वाचनका लागि गरिएको आवश्यक तयारीबारे प्रमुख निर्वाचन आयुक्त थपलियालाई जानकारी दिए । कुटनीतिक नियोगका प्रमुखहरु उपनिर्वाचन अवलोकनका लागि आइसकेका छन् ।

पूर्वेली न्यूजबाट

सम्बन्धित खवर