महिला हिंसा गर्नेलाई काँग्रेसले सदस्यता नदिने - Crazysaptahik.com

महिला हिंसा गर्नेलाई काँग्रेसले सदस्यता नदिने


क्रेजी साप्ताहिक काठमाडौं । महिला हिंसाको अन्त्यका लागि कडा दण्ड सजायको व्यवस्था हुनुपर्ने नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । ‘नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठान’ ले महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मंगलबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले महिला हिंसा, बलात्कार तथा हत्या न्युनिकरणका लागि कानूनमै कडा व्यवस्था गरिनुपर्ने बताएका हुन् ।

उनले नेपाली कांग्रेसको विधानमा यस्तो गतिविधिमा सहभागि हुनेहरुलाई सदस्यता समेत लिन नपाउने व्यवस्था गरिएको बताए । महिला हिंसा कम गर्न सरकारले काम नगरेपनि नेपाली कांग्रेसले गर्नुपर्ने सभापति बताए । कार्यक्रममा कांग्रेस महामन्त्री शशांक कोइरालाले महिला हिंसाविरुद्धको विषयलाई विद्यालयस्तरको पाठ्यक्रममै राखेर अगाडी बढ्नुपर्ने बताए।

त्यस्तै कांग्रेस नेतृ आरजु देउवाले महिलामुखि एजेण्डाहरु नेपाली कांग्रेसले स्थापनाकालदेखि उठाउँदै आएको बताइन्। नेपाली कांग्रेसले समाजमा परिवर्तन ल्याउने गरी महिलाका लागि गर्नुपर्ने कामहरुको बारेमा प्रतिष्ठान अगाडी बढ्नुपर्ने समेत उनले बताइन् । नेत्री उमा रेग्मीले नेपाली समाजमा महिलालाई बस्तुजस्तो प्रयोग गर्ने र फाल्ने रुपमा हेरिएको बताउँदै सरकार यसप्रति गम्भिर नभएको आरोप लगाइन् । उनले लोकतन्त्रको नाउँमा झन बढी महिला हिंसा बढेको बताइन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.