प्रेमप्रसाद भट्टराई(के.डी)
नेपाल जेसिजका वर्ष २०२० का राष्ट्रिय अध्यक्ष पदका उम्मेद्धार पथरीशनिश्चरे निवासी अशोक शंकरलाई जिताउनका लागि ‘अशोक शंकर जिताउ अभियान सहयोग समिति’ ले अहिले विभिन्न प्रकारका अभियानहरु गर्दै आएको छ । सोहि अभियानले बुधबार पथरीशनिश्चरे नगर र नगर आसपासका पत्रकारहरुसंग भेटघाट कार्यक्रम गरेको छ ।
मोरङको पथरीशनिश्चरे–१ अवस्थित पथरी बहुमुखी क्याम्पसको सभाहलमा बुधबार समितिले पत्रकार भेटघाटको कार्यक्रमको आयोजना गरी पत्रकारहरुसँग पनि सल्लाह सुझाब लिएको छ । सहयोग समितिका संयोजक अर्जुनकुमार बुढाथोकीको संयोजकत्वमा भएको सो कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले अशोक शंकर पथरीको मात्र नभई प्रदेश नं १ कै गहना रहेको बताएका थिए । कार्यक्रममा बोल्दै नेपाली काङग्रेसका नेता केशव दुलालले आफु र आफ्नो सामथ्र्यले भ्याएसम्म अशोक शंरलाई जिताउनका लागि पूर्ण रुपमा लागिपर्ने बताएका थिए । त्यस्तै शंकरलाई जिताउनका लागि नगरले सहयोग गर्ने अभियानका प्रमुख सल्लाहकार समेत रहेका पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख राईले प्रतिबद्धता ब्यक्त गरेका थिए । आफ्नो नगरबाट मात्र नभइ छिमेकी पालीकाबाट समेत सहयोग पाउने कुरामा विश्वस्त रहेको समेत नगरप्रमु राईले बताए ।
शंकरको उम्मेद्धारीले नगर तथा नगर आसपासका क्षेत्रलाई चिनाउन सकेको भन्दै सबै राजनितिक दल, संघसंस्था तथा व्यवसायीहरु एक भएर अभियानमा सरिक हुन संविधानसभा सदस्य चण्डीप्रसाद राईले अनुरोध गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल जेसिज वर्ष २०२० को राष्ट्रिय अध्यक्ष पदका उम्मेद्धार अशोक शंकरले आफुलाई सहयोग गर्न सवै राजनितिक दल, संघ संस्था व्यवसायी लगायतलाई अनुरोध गरेका थिए । अहिले विभिन्न संघसंस्थाहरुमा हुने राजनितिले तिनको उद्धेश्य एकातिर र काम अर्कोतिर भएको भन्दै सो प्रकारका कार्यहरु बन्द गरि संस्थालाई निर्वाध रुपमा चल्न दिइ सबै एक भइ राष्ट्र निर्माण सरिक हुनुपर्ने समेत उनले बताएका थिए ।