राष्ट्रिय सभा निर्वाचनः प्रदेश १ मा मनोनयन दर्ता - Crazysaptahik.com

राष्ट्रिय सभा निर्वाचनः प्रदेश १ मा मनोनयन दर्ता


क्रेजी साप्ताहिक
बिराटनगर । प्रदेश नं १ मा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुले नामावली दर्ता गराएका छन् ।माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि विराटनगरको सोमबारे हाटस्थित प्रदेश १ को निर्वाचन कार्यालयमा आइतबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएको सत्तारुढ नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले बताए । नेकपाकाका तर्फबाट गोपी अछामी, देवेन्द्र दाहाल र इन्दु गौतमले उम्मेदवारी दर्ता गराएका छन् ।

दलित कोटाका उम्मेदवार अछामी पूर्व खेलकुद राज्यमन्त्रीसमेत हुन् । सिन्धुली घर भएका उनीहाल पार्टीको मोरङ जिल्ला कमिटीका सह–इन्चार्ज छन् । महिलातर्फबाट उम्मेदवार बनेकी सुनसरी इटहरीकी गौतम प्रधानमन्त्रीका परराष्ट्र ममिला सल्लाहकार डा. राजन भट्टराईकी सासू हुन् । उनी अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य पनि हुन् । त्यसैगरी अन्यतर्फबाट उम्मेदवार बनेका दाहाल तत्कालिन एमालेको झापा जिल्ला सचिव एवं हाल पार्टीको केन्द्रीय सदस्य हुन् । उनी प्रधानमन्त्री केपी शर्मा ओली निकटका मानिन्छन् । निरबहादुर विश्वकर्मा, मीना पुलामी मगर र राजेन्द्र घिमिरेले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । पाँचथरका विश्वकर्मा दलित, कांग्रेस महासमिति सदस्य सुनसरी धरानकी मीना महिला र पूर्व महासमिति सदस्य झापाका घिमिरे अन्यबाट उम्मेदवार बनेका हुन् ।

आयोगले मनोनयन दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने व्यवस्था गरेको थियो । प्रदेश १ मा ९३ जना प्रदेश सांसद र १ सय ३७ स्थानीय तह रहेका छन् । यस प्रदेशमा स्थानीय तहको प्रमुख र उपप्रमुखसहित २ सय ७४ सहित ३ सय ६७ मतदाता रहेका छन् । प्रदेश र स्थानीय गरेर कुल मतभार भने ९ हजार ३ सय ९६ रहेको छ । राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी १९ सांसदको दुई वर्षे कार्यकाल फागुन २१ गते सकिँदैछ ।

सम्बन्धित खवर