प्रधानमन्त्री ओलिसहित चार जनाविरूद्ध अख्तियारमा उजुरी - Crazysaptahik.com

प्रधानमन्त्री ओलिसहित चार जनाविरूद्ध अख्तियारमा उजुरी


क्रेजी साप्ताहिक । प्रधानमन्त्री केपी शर्मा ‌ओलीसहित चार जनाविरुद्ध अख्तियारमा उजुरी परेको छ । उजुरी पर्नेहरुमा ओलीका साथै निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वसञ्चार सचिव महेन्द्र गुरूङ र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेल रहेका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, भु–उपग्रह खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार, कम्प्युटर ल्याव र अप्टिकल फाइबर विस्तारमा अनियमितता भएको भन्दै बाँके नेपालगञ्जका ६७ वर्षीय प्रेमबहादुर शाही र मकवानपुर हेटौंडा ११ नवलपुरका ६४ वर्षीय आनन्दराम पौडेलले प्रधानमन्त्रीसहित चार जनालाई आइतबार अख्तियारमा उजुरी दिएका हुन् । अनुचित कार्य भ्रष्टाचार गरेको भन्दै उनीहरूले कारबाहीको मागसहित उजुरी दिएका हुन् । उक्त उजुरी अख्तियारले दर्ता गरिसकेको छ । सेक्युरिटी प्रेस खरिद प्रकरणमा जोडिएर सञ्चार मन्त्री बाँस्कोटाको अडिओटेप सार्वजनिक भएपछि गत बिहीबार उनले नैतिकताको आधारमा राजीनामा दिइसकेका छन् । सार्वजनिक अडिओमा बाँस्कोटाले ७४ करोड कमिसन डिल गरेको दाबी गरिएको छ ।

प्रधानमन्त्री ओलीले उक्त अडिओ डेढ महिना पहिले नै सुनिसकेको दाबी गरिएको उक्त उजुरीमा प्रधानमन्त्रीले सो प्रमाण लुकाएर भष्टाचार उद्योग कार्यमा संलग्न र मतियार रहेको पुष्टि हुने दाबीसहित छानविन गर्न माग गरिएको छ । प्रधानमन्त्रीसहित चारै जना सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, भु–उपग्रह खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार, कम्प्युटर ल्याव र अप्टिकल फाइबर विस्तारमा अर्बौ भ्रष्टाचार गरेको पाइएको दाबीसहित उक्त उजुरीमा अनुसन्धान गरी मुद्दा चलाएर सजायसमेत मागिएको छ ।

सम्बन्धित खवर