क्रेजी साप्ताहिक काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली निर्वतमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बचाउमा लागेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनका लागि बाँस्कोटाले बार्गे्निङ गरेको अडियो सार्वजनिक भएकोमा उक्त ’अडियोमा बाँस्कोटाकै आवाज हो भन्ने प्रमाणित नभएको’ ओलीले दाबी गरेका हुन् ।
बिहीबार काठमाडौंमा नेकपाले आयोजना गरेको वाग्मती प्रदेश कमिटीको राजनैतिक प्रशिक्षण तथा भेला कार्यक्रममा बोल्दै प्रधामन्त्री ओलीले भने, ‘अनधिकृत मान्छेले ल्याएको टेप उचालियो । यसमा कुनै प्रमाण छैन ।’ प्रधानमन्त्री ओलीले स्वीस कम्पनीका एजेन्ट भनिएका ती व्यक्तिलाई स्वीस दूतावासले एजेन्ट होइन भनेर विज्ञप्तिसमेत निकालेको उल्लेख गरेका थिए । नेकपाका अध्यक्षसमेत रहेका ओलीले भने, ’नाम जोडिएकाले उनले नैतिकताको आधारमा राजीनामा गरे । भ्रष्टाचार गरेको प्रमाणित भएको जस्तो गरी प्रचार भयो ।’
प्रधामन्त्री ओलीले अडियो प्रकरणमा बाँस्कोटाको दोष देखिए कारबाही पनि हुने र सजाय पनि भोग्नुपर्ने बताए । भ्रष्टाचारका कुनै पनि मुद्दामा आफ्नो विरुद्ध आरोप र मुद्दा नभएको तर पत्रिकाले अनावश्यक रूपमा छापेको ओलीको भनाइ थियो । उनले भने, ‘आरोप छैन, मुद्दा छैन, उजुरी छ भन्ने अखबारमा देखेको थिए । मेरो पनि नाम छ रे उजुरी । काम नलाग्ने ‘पत्रु’ उजुरी हो। सुशासनमा लागेको छ । अख्तियारले मुद्दा चलाएको चलायै छ ।’ प्रधामन्त्री ओलीले नेपालका कम्युनिस्ट पार्टी २०५४ मा विभाजन नभएको भए त्यति नै बेला दुईतिहाइ बहुमत आउने भन्दै कम्युनिस्ट पार्टी बलियो भएकाले माघ १९ को ’शाही कू’ विरुद्धको आन्दोलन सफल भएको दाबी गरे ।