वैशाख १ देखि फिल्म छायांकनमा सिफ्ट प्रणाली, विदेशीले ६५ प्रतिशत नेपाली प्राविधिक राख्नुपर्ने - Crazysaptahik.com

वैशाख १ देखि फिल्म छायांकनमा सिफ्ट प्रणाली, विदेशीले ६५ प्रतिशत नेपाली प्राविधिक राख्नुपर्ने

चलचित्र प्राविधिक संघ (नेफ्टा)ले आगामी वैशाख १ गतेदेखि लागु हुनेगरी छायांकनमा सिफ्ट सिस्टम कार्यान्वयनमा ल्याउने भएको छ । फिल्म प्राविधिकको छाता संस्थाले उक्त मितिदेखि १२ घण्टाको सिफ्ट सिस्टम तोक्दै प्राविधिकलाई काम गर्न अनुमति दिने निर्णय गरेको हो ।

अध्यक्ष पुष्कर लामाले अन्तर्राष्ट्रिय फिल्म उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा पनि यस्तो व्यवस्था लागु गर्न लागिएको बताए । जसअनुसार अब नेपाली प्राविधिकले बिहान ७ देखि बेलुका ७ बजेसम्म र बिहान ९ बजेदेखि राति ९ बजेसम्मको १२ घण्टे तालिकाअनुसार काम गर्नुपर्नेछ ।

वैशाख १ अतिरिक्त समय काम गर्नुपरे निर्माताले प्राविधिकलाई थप पारिश्रमिक दिनुपर्नेछ । नेफ्टाको हालै बसेको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । ‘२०७६ सालदेखि नै यो अभ्यास सुरु गर्ने तयारी थियो तर कोरोना महामारीले रोकियो,’ अध्यक्ष लामाले भने, ‘फिल्मको अहिलेको अवस्था र व्यवसायलाई हेरेर यो नियम ल्याएका हौं ।

जिम्मेवार श्रमिक संस्थाले भएकाले निर्मातालाई जोगाउनुपर्छ भन्ने उद्देश्य छ ।’ सिफ्ट प्रणाली कार्यान्वयन गर्नको लागि निर्माता संघ र चलचित्र संघजस्ता सम्बद्ध निकायसँग नेफ्टाले सहकार्य गर्ने पनि अध्यक्ष लामाले जनाए ।

विदेशी फिल्म उद्योगमा भने आठ घण्टाको नियम अभ्यासमा छ । नयाँ वर्षदेखि नै नेफ्टाले अर्को नियम पनि ल्याउँदैछ जसले स्वदेशी प्राविधिकलाई लाभ मिल्ने अपेक्षा गरिएको छ ।

नेपालमा छायांकन गर्न आउने विदेशी फिल्मले अनिवार्य ६५ प्रतिशत नेपाली प्राविधिक राख्नुपर्ने र नेपालमा छायांकन गर्दा नेफ्टासँग अनुमति लिनुपर्नेदेखि सहकार्य गर्नुपर्ने नियम पनि ल्याउने तयारी छ ।

‘छिमेकी मुलुकमा फिल्म छायांकनलाई जाँदा त्यहाँका एसोसिएसनसँग सहकार्य गर्नुपर्ने नियम छ । सोही नियमलाई हामीले नेपालमा समेत थालनी गर्न लागेका हौं,’ उनले भने ।

गतेदेखि नै नेफ्टाको सदस्यता नलिने प्राविधिकले काम गर्न नपाउनेदेखि संस्थाबाट सुविधा पनि नपाउने भएका छन् । ‘प्राविधिकको हकहित र सुरक्षालाई ध्यानमा राख्दै दैनिक आइपर्ने समस्यालाई न्यूनीकरण यो नियम ल्याउन लागेका हौं,’ अध्यक्ष लामाले भने, ‘अब कार्ड भएकाले मात्र काम गर्न पाउने समझदारी भएको छ ।

कार्ड बनाएर काम गर्दा प्राविधिक र निर्मातालाई दुवैलाई सजिलो हुने हाम्रो आशा छ । भोलि तलमाथि हुने परिस्थितिमा निर्मातालाई पनि लाभदायक हुनेछ ।’ गत महिना लगातार तेस्रो कार्यकालमा अध्यक्षमा निर्वाचित भएका लामाले प्राविधिकको हकहित र फिल्मको अन्तर्राष्ट्रियकरणलाई प्रमुख एजेण्डा बनाएका छन् ।

यसबाहेक प्राविधिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनेदेखि प्राविधिको क्षमता अभिवृद्धि गर्ने तथा अवार्डमार्फत विदेशमा नेपाली फिल्मको बजार खोज्ने उनका अन्य योजना छन् ।

सम्बन्धित खवर