फर्किए फिरोज स्याङ्देन - Crazysaptahik.com

फर्किए फिरोज स्याङ्देन

फिरोज स्याङ्देन – एउटा यस्तो नाम, जसलाई कुनै परिचयको खाँचो छैन । नेपाली सांगितीक क्षेत्रका एक अग्रणी व्यक्तित्व, एक चम्किला नक्षत्र । जसको नाम सुन्नासाथ मन मस्तिष्कले भनिहाल्छ, ‘परेलीमा लुकाइराख न’ ।

नेपाली गीत संगीतका पारखी सायदै कोही होलान् जसले उनी आबद्ध ब्यान्डलाई सुनेका छैनन् । एउटा यस्तो ब्यान्ड जसले नेपाली संगीतलाई ‘रिडिफाइन’ र्गयो । सबैलाई यसले आफ्नो संगीतको जादुले निथ्रुक्क भिजाएको छ । निकै लामो इतिहास बोकेको ब्यान्ड, १९७४ एडीका संस्थापक र मुख्य गायकमध्येका एक फिरोज, १९७४ एडीका ‘भेटरन’ हुन् ।

तिनै फिरोज ११ वर्षपछि आफ्नै ‘घर’ फर्किएका छन् । एउटा यस्तो घर जुन उनको ‘सर्वस्व’ हो । जुन बिना उनी आफू ‘केही पनि होइनन्’ भन्छन्, जसलाई उनले असाध्यै ‘मिस’ गरेका थिए, जहाँ फर्कन पाउँदा उनको मन पुलकित छ, यसैयसै फुरुङ्ग छन्, जीवनको नयाँ अध्याय सुरु भएको महसुस गरेका छन्, घरका अन्य चार सदस्य बेसिस्ट निराकर याकथुम्बा, ड्रमर एवं गायक एड्रियन प्रधान, गितारिस्ट मनोज कुमार केसी र पर्कसनिष्ट संजय श्रेष्ठसँग मिलेर केही नयाँ गर्ने उत्कट चाहना बोकेका छन् ।

निकै साधारण, मिजासिला, हँसिला र जीवनको पचासौँ वसन्तमा पनि जवान देखिने रसिला फिरोजसँगको संवाद बाल्यकालदेखि सुरु भयो ।

बाल्यकालः

उनी दार्जि्लिङमा जन्मेका हुन् । बेलायती शासनकालमा दार्जि्लिङमा चिया कमान खोलियो । त्यहाँको टकभर टि स्टेटमा उनले जीवनको सुनौलो पल अर्थात् बाल्यकाल बिताए । बुवा खर्के स्याङ्देन र आमा नर्बदा स्याङ्देन दुबै चिया कमानका मजदुर । त्यसकारण चिया कमानकै स्कूलमा पढे । शहरका विद्यालयसम्म पहुँच दुई कारणले हुन सकेन – एउटा त आर्थिक कारणले अर्को दुरीका हिसाबले पनि टाढा ।

‘शहरतिरको स्कूल गएर पढ्न गाह्रो हुन्थ्यो । टाढा पनि त्यसमाथि आर्थिक रुपमा पनि गाह्रो । शहरतिर गएर अंग्रेजी माध्यमको विद्यालय पढाउन सक्ने क्षमता हाम्रो परिवारमा खासै थिएन । कमानतिरको लेबरको छोराछोरी त हो नि हामी त । मेरो आमाबुवा दुबैजना चिया बगानको कामदार,’ उनले भने ।

दार्जि्लिङको हावापानी नै संगीतमय छ । त्यसैले होला, विद्यालय पढ्दै गर्दा उनी संगीतमा रमाउन थालिसकेका थिए । कतै टाढा गीत बज्दा पनि उनका कान टाठा भइहाल्थे । विद्यालयका कार्यक्रमहरुमा भाग लिन थालिसकेका थिए ।

संगीतमा लाग्न केले प्रेरित ?

उति बेलाको समय र वर्तमान समयमा उनी आकाश पातालको फरक देख्छन् । उनले भने, ‘ हाम्रो पालामा अहिलेको बच्चाहरुलाई जस्तो ‘तिमीलाई के चाहिन्छ, तिमी के बन्छौँ ?’ भनेर आमाबुवाहरुले सोध्ने चलन नै थिएन के ।’

उनी आफ्नै तरिकाले अघि बढे । जता मन लागेको छ त्यतै गए, जे मन लागेको छ त्यही गरे । उनको यस्तो चालामाला देखेर आमाबुवाले गालीसमेत गर्ने गरेको उनले बताए । उनी भन्छन्, ‘उहाँहरुले हकार्ने पनि गर्नुहुन्थ्यो । बजाइरहेको छ, लखरलखर हिँडिरहेको छ, त्यो देखेर गाली गर्नुहुन्थ्यो । तर अप्रत्यक्ष रुपमा सपोर्ट पनि गरिरहनुभएको हुन्थ्यो । यताउती जान पैसा चाहिन्थ्यो, सामानहरु किन्दा यसो पैसा पनि दिने गर्नुहुन्थ्यो ।’ रगत पसिना बगाएर कमाएको दुईचार पैसा छोरालाई संगीत सिक्न र सांगीतिक उपकरण किन्नका लागि दिनु भनेको चानचुने समर्थन होइन । यसका लागि उनका आमा–बुवाले आफ्ना अथाहा रहर र आवश्यकताको कैयन् बली दिएका थिए, सायद ।

संगीतमै लाग्ने निर्णयः

सुरुवाती दिनमा उनका जिज्ञासु औँलाहरु रहर बोकेर गीतारका तारमाथि दौडने गर्थे । क्यासेटसमेत नभएको त्यो युगमा संगीतप्रति कस्तो जिज्ञासा थियो ? कसरी सिक्नुहुन्थ्यो ? मेरो प्रश्नमा उनले भने, ‘गाउँमा जबजब विवाह, ब्रतबन्धको भोजभतेर हुन्थ्यो, तब भिनाइल रेकर्डमा हिन्दी, नेपाली गीतहरु बज्थे ठूल्ठूलो आवाजमा, टाढासम्म सुन्नेगरी । त्यतिबेला सुनेको गीतहरुबाटै सिक्ने हो । साथै, अरुबेला रेडियो नेपालबाट जुन गीतहरु बज्थे त्यसबाट पनि सिक्थेँ ।’

उनी टाढाबाट बजिरहेको गीत निकै ध्यान दिएर सुन्थे । त्यसलाई दिमागमा राख्थे र कुनै नोटेशन बिना नै गीतार वा हार्मो्नियममा उतार्ने गर्दथे । उनले भने, ‘म्युजिकल नोटेसेन हुँदै नहुँदा पनि हामीले गीतहरु हुबहु उठाउने गर्दथ्यौँ ।’

संगीत सिक्दाको अर्को रोचक घटनालाई स्मरण गर्दै उनले भने, ‘मसँग भिनाइल रेकर्ड हुन्थ्यो तर बजाउने ठाउँ भने थिएन । त्यसपछि बजारतिर गयो, भिनाइल रेकर्ड बज्ने पसल खोज्दै र्छियो । एकछिन बजाइदिनुहोस् न भन्यो । बजाइदिन्थे, सुन्यो । कहिलेकाँही एकपटक सुनेकोले पुग्दैनथ्यो, पुनः बजाइदिन आग्रह गर्थेँ, झिँजो मानेरै भएपनि बजाउन चाँही बजाइदिन्थे । त्यो सुन्यो, कानले क्याचअप गरिरह्यो र घर आएर गीतारमा प्राक्टिस गर्थें ।’ सायद संगीत प्रतिको लगावले नै उनलाई यतिसम्म गर्न बाध्य बनायो ।

संगीत सिक्ने अठोटः

संगीतप्रतिको प्यासन उनको यति बढ्दै गएको थियो कि उनी दिनप्रतिदिन संगीतमा नै डुब्न चाहन्थे, यसमै हराउन चाहन्थे, यसैमा विज्ञता हासिल गर्न चाहन्थे । संगीतको दुनियाँ उनलाई रोमाञ्चक लाग्थ्यो, जिज्ञासाले भरिपूर्ण लाग्थ्यो । । त्यसैले अब संगीत व्यवस्थित तरिकाले सिक्नैपर्ने अठोट गर्न थाले ।

उनले भने, ‘बम्बईतिर कसरी बजाएको होला ? रेडियो नेपालमा बजाएको कसरी होला ? संगीतलाई कसरी चाहिँ मज्जाले अरेन्ज गरेको होला भनेर जिज्ञासु हुन्थेँ ।’

त्यसपछि उनको दिमागले निर्क्यौल र्गयो, अब संगीत व्यवस्थित तरिकाले सिक्नै पर्छ । यति निश्चित गरेपछि उनी दार्जि्लिङ शहर छिरे त्यहाँ जीवन प्रधानसँग नोटेशनको सुरुवाती कक्षा लिए । यो सन् १९८० को कुरा हो, सन् १९८५ सम्म उनले निरन्तर कक्षा लिए ।
–सरिता कार्की, रातोपाटी

सम्बन्धित खवर