
क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगर मार्फत् ६ नम्वर वडास्थित कुटोकोदाली कृषि सहकारी संस्थाको दुध चिस्यान स्थल र १ नम्बर वडामा निर्माणाधीन पशु बधस्थलको शुक्रबार अनुगमन् गरिएको छ ।
नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा नगर पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल सहितको टोलीले ६ नम्वरको भातेगौंडामा अवस्थित चिस्यानस्थलको अनुगमन् गरेको हो ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयमार्फत ७५ प्रतिशत अनुदानमा २ हजार लिटरको एउटा दुध चिस्यान मेसिन ( चिलिङ भ्याट) र जेनेरेटर प्रदान भएको थियो । प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयकातर्फबाट पशुचिकित्सक विनोदकुमार शाह, अधिकृतहरु पवित्रा दहाल र रामसागर पण्डितको समेत उपस्थितिमा अनुगमन् भएको हो ।

जसमा निर्दशनालयको १० लाख र सहकारी संस्थाको ४ लाख ६५ हजार रकममा चिलिङ भ्याट र जेनेरेटर जडान भएको संस्थाका एलबी भण्डारीले जनाउनुभयो । निर्देशनालयकै पशुवधस्थल निर्माण सुधार कार्यक्रम अन्तर्गत १ नम्वर वडाको पथरी बजारस्थित गोसलाइनमा निर्माणाधीन वधस्थलको पनि टोलीले अनुगमन् गरेको छ ।
उक्त वधस्थल निर्माणका लागि प्रदेश सरकारको बढीमा ५० लाख तथा अन्य नगरपालिका कार्यालयको गरी ७५ लाख १४ हजार ४ सय ५१ रुपैयाँको स्टिमेट रहेकोमा ५० लाख ९३ हजार ५ सय ७९ रुपैयाँमा मादी आरकेडा कन्ट्क्सन इटहरीले ठेक्कामा निर्माण कार्य अघि बढिरहेको छ । सो बधस्थलमा दैनिक ठूला पशु ५ वटा र साना १२ वटासम्म वध गर्न मिल्ने र प्रसोधन गर्ने व्यवस्थितस्थल वन्ने छ ।

